‘माया लुकी लुकी’लाई युटुबमा १० करोड भ्यूज - Crazysaptahik.com

‘माया लुकी लुकी’लाई युटुबमा १० करोड भ्यूज

‘माया लुकी लुकी’ बोलको गीतको भिडियो भन्दा अगाडि अडियो सार्वजनिक भएको थियो । सोही समयमा गायिका टीका प्रसाँइलाई धेरैले राम्रो गीत भनेर बधाई दिएका थिए । टीका आफैलाई पनि गीत असाध्यै मन परेको थियो । आनन्द अधिकारीको शब्द, आशिष अविरलको संगीतमा टीकाले आवाज दिएकी छिन् ।

अडियो सार्वजनिक भएको केही दिनपछि ‘कार्टुन क्रु’को निर्माणमा गीतको भिडियो तयार भयो । यो गीतको भिडियोलाई युटुबमा सार्वजनिक गरेपछि दर्शकले झनै माया गरे । छोटो समयमै गीत चर्चाको शिखरमा पुग्यो । शहरदेखि गाउँ, सांगीतिक जमघटदेखि रेष्टुरेण्टसम्ममा गीत घन्किन थाल्यो । युटुबमा गीतले भ्यूजमा पनि नयाँ नयाँ रेकर्ड बनाउँदै गयो ।

सार्वजनिक भएको साढे २ बर्षपछि गीतले नयाँ सफलता हात पारेको छ । यो गीतको भिडियोले युटुबमा १० करोड भ्यूज पार गरेको छ । योसँगै ‘माया लुकी लुकी’ले युटुबमा १० करोड पार गर्ने एल्बमको गीतको नयाँ रेकर्ड बनाएको छ । यसअघि चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ले युटुबमा १० करोड भ्यूज पार गरेको थियो ।

आफ्नो गीतले १० करोड पार गरेसँगै गायिका टीका भन्छिन्,–‘यो सबै दर्शक तथा श्रोताको माया हो ।’ गीत गाएपछि नै उनलाई दर्शक तथा श्रोताले मन पराउने विश्वास थियो । टिकाले अनलाइनखबरसँग खुशी साट्दै भनिन्–‘तर, मलाई यति धेरै माया पाउँछु जस्तो लागेको थिएनँ ।

आज गीतले नयाँ रेकर्ड बनाएकोमा खुशी लागेको छ । यो मेरो मात्र नभएर सिंगो सांगीतिक क्षेत्रको सफलता हो ।’ मेला–महोत्सवमा समेत टीकाका लागि यो गीत अनिवार्य जस्तै बनेको थियो । ‘अधिकांश ठाउँमा ‘वान्समोर’ आयो । उनले एउटै कार्यक्रममा यो गीत ५ पटकसम्म गाएकी छिन् । गीत हिट हुनुमा अडियो र भिडियोको संयोजन भएको टिकाको तर्क छ ।

सम्बन्धित खवर