
क्रेजी संवाददाता
पथरी । ट्रु भाइभ इभेन्ट एण्ड म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा लिटल मिस्टर एण्ड मिस टिन पथरी सिजन–२ को ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ ।
शनिबार हरियाली सामुदायिक वनको सभाहलमा आयोजित फिनाले कार्यक्रममा लिटल, मिस्टर र जुनियर क्याटोगरीअन्तर्गत प्रतिस्पर्धा गरिएको थियो । लिटल क्याटोगरीतर्फ समिक्षा लिम्बु विजेता घोषित भइन् भने साक्षी लिम्बु फस्ट रनर–अप र वाङ्मा तामाङ सेकेण्ड रनर–अप बनिन् । त्यस्तै मिस्टर क्याटोगरीतर्फ दिप्सन श्रेष्ठ विजेता घोषित हुँदा गगन कार्की फस्ट रनर–अप र कुङ्साहाङ लिम्बु सेकेण्ड रनर–अप बने ।
जुनियर क्याटोगरीतर्फ प्रकृति श्रेष्ठ विजेता बन्न सफल भइन् भने सुनेरा राई फस्ट रनर–अप र अनुसा गुरुङ सेकेण्ड रनर–अप घोषित भए । प्रतियोगितामा विभिन्न विधाअन्तर्गत ३२ वटा सब–टाइटलसमेत प्रदान गरिएको थियो । फिनालेबाट पब्लिक च्वाइस अवार्ड दिप्सन श्रेष्ठले जितेका थिए भने अर्गनाइजर च्वाइस अवार्ड सृष्टि बस्नेतले प्राप्त गरेकी थिइन् ।
तीनै विधाका विजेताहरूले क्राउन, ट्रफी, प्रमाण–पत्र सहित जनही २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए । सो कार्यक्रममा निर्णायकको रूपमा मिस्टर नेपाल २०२५ का म्यान अफ द वल्र्ड प्रकाश चौहान, मिस आर्टिस्ट्री विजेता तथा मिस प्रिटिन्स युनिभर्स एसिया विजेता नुमुसा लिम्बु र मिस्टर नेपाल २०२३ का फाइनलिस्ट प्रविण पाठक रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्वापो रहेका थिए । विशिष्ट अतिथिहरूमा वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, बाल्मिकी मेमोरियल बोर्डिङ स्कुलका अध्यक्ष नवलकिशोर खनाल, प्रिन्सिपल चन्द्र दुलाल, मोरङ म्यारिगोल्ड बोर्डिङ स्कुलका अध्यक्ष खगेन्द्र सिटौला, भूपू सैनिक बोर्डिङ स्कुलका प्रिन्सिपल उपेन्द्र कडेल तथा प्याराडाइज अंग्रेजी बोर्डिङ स्कुलका प्रिन्सिपल उपेन्द्र कडेल लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि नगरप्रमुख तुम्वापोले पथरी शनिश्चरे नगरपालिकामा बालबालिका र किशोर–किशोरीहरूको प्रतिभा प्रस्फुटन हुने गरी व्यवस्थित मोडलिङ पेजेन्ट आयोजना गरिएकोमा आयोजक टोलीलाई बधाई तथा धन्यवाद व्यक्त गरे । उनले यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास, नेतृत्व क्षमता र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउँदै यसलाई नगरपालिकाको गौरवपूर्ण कार्यक्रमका रूपमा लिन सकिने उल्लेख गरे ।
इभेन्टका अध्यक्ष पासाङ तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा इभेन्ट डाइरेक्टर ईश्वर दुलालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन रोश्नी दर्नालले गरेकी थिइन् ।

