‘मेरो कविता : द रिदम अफ पोएट्री सिजन–१’को उपाधि सोनामलाई - Crazysaptahik.com

‘मेरो कविता : द रिदम अफ पोएट्री सिजन–१’को उपाधि सोनामलाई

क्रेजी संवाददाता
झापा । माइ प्लेटफर्मको प्रस्तुतिमा आयोजना गरिएको काव्य रियालिटी शो ‘मेरो कविता ः द रिदम अफ पोएट्री सिजन–१’ को उपाधि सोनाम पाल्जोर तामाङले आफ्नो पोल्टामा पारेको छ ।
नेपाली भाषा र साहित्यको प्रवद्र्धन गर्ने हेतुले रिदम एन्ड रियालिटीको प्रस्तुतिमा आयोजना भएको सो काव्य रियालिटी शो ‘मेरो कविता : द रिदम अफ पोएट्री’को उपाधि सिक्किमका सोनाम पाल्जोर तामाङले जितेका हुन् ।
झापा बेलडाँगी–२ दमकमा सोमबार भएको सो प्रतियोगिताको विजेता तामाङले नगद रु. ३ लाख रुपैयाँ सहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरेका छन् । यसैगरी धरानका प्रवेक हाङसोङ प्रथम उप–विजेता बन्दै नगद रु. १ लाख रुपैयाँ हात पारेका छन् भने टोली प्रसाद राजवंशी दोस्रो उप–विजेता (७५ हजार रुपैयाँ) र सेसे थामसुहाङ तेस्रो उप–विजेता (५० हजार रुपैयाँ) सहित घोषित भएका छन् ।
ग्राण्ड फिानालेमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथिका रूपमा उपस्थिति थिए । राईले कविताले समाज र माटोको आवाज बोल्नुपर्ने धारणा राख्दै यस किसिमको कार्यक्रमले राजधानी केन्द्रित साहित्यिक गतिविधिलाई विकेन्द्रीकरण गर्न टेवा पु¥याउने धारणा व्यक्त गरे ।
कार्यक्रममा विश्व भूटानी साहित्यिक संगठन जी.बी.एल.ओ. का पदाधिकारी, विभिन्न स्रष्टा तथा कलाकारहरूको उपस्थिति रहेको थियो । बेल्डाँगी र पथरी शनिश्चरे शिविरका प्रतिनिधिहरूको सहभागिताले कार्यक्रमप्रति भुटानी शरणार्थी समुदायको सक्रियता देखाएको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा हेमन यात्री, सुमन स्मारिका, उत्तम तुम्सा लिम्बु र अज्ञात दधि रहेका थिए भने मेन्टरका रूपमा चन्द्र गुरुङ, सुन्दर कुरुप, गगन योक्पाङदेन र सुमन लिङदेनले प्रतियोगीहरूलाई मार्गदर्शन गरेका थिए । कार्यक्रम सञ्चारकर्मी सुमन कुरुम्बाङले सञ्चालन गरेका थिए ।
निर्देशक केवल क्षेत्रीको निर्देशनमा सम्पन्न उक्त कार्यक्रम विश्व भूटानी साहित्यिक संगठन जी.बी.एल.ओ. र माई प्ल्याटफर्मद्वारा आयोजित तथा रिदम एन्ड रियालिटी इभेन्ट प्रा.लि. र बेल्डाँगी नाट्य परिवारको सह–आयोजनामा सम्पन्न भएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.