दोस्रो मिनि खेलकुद महोत्सव यहि माघ १ गतेबाट - Crazysaptahik.com

दोस्रो मिनि खेलकुद महोत्सव यहि माघ १ गतेबाट

सन्तोस राई
चैनपुर । किरण ज्योति युवा क्लब चैनपुर १० संखुवासभाको वार्षिक उत्सवको अवसरमा दोस्रो मिनि खेलकुद महोत्सव २०७८ हुने भएको छ । माघ १ गतेबाट सञ्चालन हुने महोत्सवमा पुरूष क्लब स्तरीय आमन्त्रित फुटबल प्रतियोगिता, महिला आमन्त्रित फुटबल प्रतियोगिता, खुल्ला महिला दौड प्रतियोगिता २०० र ४०० मिटर, खुल्ला पुरूष दौड प्रतियोगिता ८०० र १५०० मिटर, खुल्ला पुरूष चेस प्रतियोगिता, हाडि फुटाइ र साथमा स्थानिय कलाकारद्धारा प्रस्तुति र झाँकी प्रदर्शन कार्यक्रम पनि हुने भएको छ ।

महोत्सवको मुख्य खेल पुरूष क्लब स्तरीय आमन्त्रित फुटबल प्रतियोगितामा आयोजक किरण ज्योति युवा क्लब संखुवासभा, नमुना युवा क्लब खाम्लिङ संखुवासभा, नव युग युथ क्लब पोखरी संखुवासभा, एडभान्स क्लब मानेभञ्याङ संखुवासभा, नाइन स्टार युवा क्लब मुडे संखुवासभा, सिद्धेश्वरी स्पोर्टिङ युवा क्लब इलाम, सिद्धार्थ युवा समाज क्लब मोरङ, तीन पोखरी समाज विकाश क्लब संखुवासभा, न्यु युवा क्लब आखिभुइ संखुवासभा, मिर्मिरे युवा क्लब तामाफोक संखुवासभा, तुम्लिङटार स्पोर्टिङ क्लब संखुवासभा र सितलपाटी फुटबल क्लब संखुवासभा गरी १२ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिता नकआउटको आधारमा खेलाइनेछ । महिला तर्फ शारदा मा.वि खराङ संखुवासभा र वाणिविलास मा.वि लुहाकोट संखुवासभा गरी २ टिमको सहभागिता रहनेछ । फुटबल खेल गोल नेपाल डट कमको आधिकारीक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरीनेछ । अन्य खेलहरुमा खुल्ला रुपमा इच्छुक खेलाडीहरुले सहभागिता जनाउने छन् ।

महोत्सव किरण ज्योति युवा क्लबको खेल मैदान चैनपुर १० खराङ खाल्टेमा माघ १ गतेबाट ५ गतेसम्म चल्नेछ । खेल महोत्सवमा हुने प्रतियोगिताको  पुरस्कारहरुमा पुरुष फुटबल प्रथम रु.१०११११, द्वितिय रु.६६६६६ र सान्त्वना २ टिमलाई रु.२२२२२/रु.२२२२२, महिला फुटबल प्रथम रु.१०००० र द्वितिय रु.५०००, महिला २०० मि. दौड प्रथम पुरस्कार रु.२०००, द्वितिय रु.१५०० र तृतिय रु.१०००, महिला ४०० मि. दौड प्रथम पुरस्कार रु.३०००, द्वितिय रु.२५०० र तृतिय रु.२०००, पुरुष ८०० मि. दौड प्रथम पुरस्कार रु.४०००, द्वितिय रु.३००० र तृतिय रु.२०००, पुरुष १५०० मि. दौड प्रथम पुरस्कार रु.५०००, द्वितिय रु.४००० र तृतिय रु.३००० चेस प्रतियोगिता प्रथम पुरस्कार रु.३०००, द्वितिय रु.२००० र तृतिय रु.१००० रहेको छ । हाडि फुटाइको भने निर्णय हुन बाँकी रहेको छ ।

स्वास्थको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथ आफ्नो कार्य क्षेत्रभित्रका स्थानीय निकाय र गैर सहकारी संघ संस्थाहरुसँग ऐक्यबद्धता जनाउँदै संस्कृति, कला र खेलकुद आदिको क्षेत्रमा विकासका लागि सम्बन्धित निकायलाई आवश्यक सहयोग गर्ने, सामाजिक विकास निर्माण, शिक्षा, स्वास्थ, स्थानीय क्षेत्रको युवा एकतालाई मध्यनजर गर्दै खेलकुद क्षेत्रमा विकासलाई निरन्तरता दिने र सम्बन्धित निकायमा आबश्यक पहल गर्ने योजनाको साथ महोत्सव आयोजना गरीएको क्लबका अध्यक्ष सन्त कुमार राइले जानकारी दिए । राईले महोत्सव सम्पन्न गर्न करिब ८ लाख २४ हजार २ सय २१ रुपैँया खर्च हुने अुनुमान् गरीएको बताए ।                                                                 

हालसम्म महोत्सवको ७० प्रतिशत तयारी सम्पन्न भएको साथै स्थानीय निकाय, संघ संस्था र  देशविदेशबाट नेपाली दाजुभाई दिदीबहिनीहरुबाट आर्थिक र जिन्सी सहयोग जुटिरहेको पनि जानकारी दिए । आयोजक क्लबले सबै खेलप्रेमी महानुभाव, शुभचिन्तक, शुभेक्छुक र सहयोगी मनहरुलाई आ–आफ्नै ठाँउबाट सकेको सहयोग गर्न अपिल पनि गरेको छ ।

सम्बन्धित खवर