जिरीखिम्तीमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ हुने - Crazysaptahik.com

जिरीखिम्तीमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ हुने

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १० स्थित जिरीखिम्तीको सिंहदेवी दुर्गा मन्दिर परिसरमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।
पञ्चमुखी हनुमान मन्दिरको विकास तथा अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ आगामी भदौ ५ गतेदेखि १३ गतेसम्म महायज्ञ सञ्चालन गरिने आयोजक श्री सिंहदेवी दुर्गा मन्दिर समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।
महायज्ञमा नेपाल राष्ट्रकै प्रथम ऐतिहासिक जगद्गुरु अनन्तश्रीविभूषित श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजको करकमलबाट चरणरामृत प्रदान गरिने तथा श्रीबिहारीशरण उपाध्यायको मुखारविन्दबाट संगीतमय श्रीमद्भागवत कथा वाचन हुनेछ । यसैगरी आचार्य श्री लेखनाथ पौड्याल (ललिता शरण)द्वारा पाठ पारायण गरिने आयोजकले जनाएको छ ।
महायज्ञ अन्तर्गत भदौ ५ गते कलश यात्रा, मण्डप पूजन तथा कथा प्रारम्भ हुनेछ । प्रत्येक दिन बिहान मण्डप पूजन, पाठ पारायण तथा पूर्वाह्न ११ बजेदेखि अपराह्न ४ बजेसम्म कथा प्रवचन सञ्चालन गरिने कार्यक्रम तय गरिएको छ । साँझ महाआरती, भजन–कीर्तन तथा ज्ञानयज्ञ सञ्चालन हुनेछ भने अन्तिम दिन भदौ १३ गते श्रीमद्भागवत भगवानको तिलाञ्जली, पूर्णाहुति एवं प्रसाद वितरण गरिनेछ ।
साथै, पूज्यपाद जगद्गुरु महाराजश्रीको आशीर्वचन प्रत्येक दिन दिउँसो ३ बजेदेखि रहने जानकारी आयोजकले दिएको छ ।
आयोजक समितिले सम्पूर्ण धर्मप्रेमी भक्तजनलाई महायज्ञमा सहभागी भई श्रीमद्भागवत कथा श्रवण गर्न, धार्मिक पुण्य आर्जन गर्न तथा मन्दिर विकास अभियानमा सहयोग पु¥याउन अनुरोध गरेको छ । पत्रकार सम्मेलनमा सो स्थानका अग्रजहरुले सिंहदेवी दुर्गा मन्दिरको विशेषताहरुको विषयमा जानकारी गराएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.