पथरी शनिश्चरेमा एमालेको जागरण अभियान तथा अन्तरक्रिया कार्यक्रम - Crazysaptahik.com

पथरी शनिश्चरेमा एमालेको जागरण अभियान तथा अन्तरक्रिया कार्यक्रम

क्रेजी संवाददाता
पथरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटीको आयोजनामा जागरण अभियान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आज पथरी शनिश्चरे १ मा केन्द्रीय सर्कुलर अनुसार ‘जागरण अभियान तथा अन्तरक्रिया कार्यक्रम–२०८३’ सम्पन्न भएको हो ।
कार्यक्रममा एमाले केन्द्रीय कमिटीका पूर्व उपाध्यक्ष तथा संघीय सांसद माननीय गुरुप्रसाद बरालको प्रमुख आतिथ्य रहेको थियो । यसैगरी, पार्टीका केन्द्रीय कमिटी सदस्य तथा मोरङ जिल्ला इन्चार्ज ऋषिकेश पोखरेलले पार्टी जागरण तथा पुनर्गठन अभियान २०८३ अन्तर्गत ‘पार्टी भित्रका समस्याहरु र हाम्रा अनुभव’, ‘आन्तरिक समस्या र निर्मम समीक्षा’ प्रस्तुत गर्नुभएको थियो ।

पथरी शनिश्चरे नगरपालिकाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार तथा केन्द्रीय कमिटीले जारी गरेको सर्कुलरको कार्यान्वयनबारे विस्तृत जानकारी गराइएको थियो ।
प्रमुख अतिथि गुरुप्रसाद बरालले पार्टीको आगामी योजनाहरु प्रस्तुत गर्दै पार्टी संगठनलाई जरा तहसम्म सुदृढ बनाउँदै जनताका अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

नगर कमिटी अध्यक्ष संजिव गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष नैना राईले स्वागत मन्तव्य राख्नुभएको थियो । नगर सचिव विरोज मगरले सञ्चालन गर्नुभएको सो जागरण अभियानमा नगर कमिटीका पदाधिकारी, जनप्रतिनिधि, विभिन्न जनसंगठनका प्रतिनिधि तथा कार्यकर्ताको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमले संगठनात्मक एकता, विचार आदान–प्रदान र आगामी कार्ययोजनाबारे साझा प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.