टेलिभिजनको ऐतिहासिक सिरियल ‘महाभारत’मा कृष्णको भूमिका निर्वाह गरेर चर्चामा आएका अभिनेता नितिश भारद्वाजले सम्बन्ध विच्छेद मृत्युभन्दा बढी पीडादायी हुने बताएका छन् । सन् २०१९ मा उनी र पत्नी स्मिताले आफ्नो १२ वर्षे वैवाहिक जीवनलाई पूर्णविराम लगाएका थिए । स्मिता एक आईएएस अफिसर हुन् ।
उनीहरुका जुम्ल्याहा छोरी छन् । उनीहरु आमासँगै इन्दौरमा बस्छन् । हालै एक अन्तर्वार्तामा नितिशले पत्नी स्मितासँग अलग हुनुको कारणबारे खुलाउँदै सम्बन्ध विच्छेद पीडादायी क्षण भएको बताएका हुन् ।बम्बे टाइम्ससँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘मैले फेमिली कोर्टमा सम्बन्ध विच्छेदका लागि २०१९ को सेप्टेम्बरमा फाइल गरेको थिएँ ।
म यसलाई गहिराइबाट बुझ्न चाहन्छु कि कुन कारण हामी दुई अलग हुन पुग्यौं । यो मामला अब कोर्टमा पुगेको छ । तर, यति भन्न सक्छु डिभोर्स मृत्युभन्दा पीडादायी हुने रहेछ ।’ एकअर्काको स्वभाव र भावनामा सम्झौता हुन नसक्दा सम्बन्ध विच्छेदसम्म पुग्नु परेको उनले खुलाएका छन् ।
बाबु–आमाको सम्बन्ध विच्छेदको विषयले बच्चालाई गम्भीर असर पर्ने आफूले महसुस गरेको उनले बताएका छन् । नितिशले आफ्ना दुई छोरीसँग कुराकानी गर्ने अवसर पनि मिल्न नसकेको र सम्बन्ध टुट्नुको गहिरो कारणबारे स्मितासँग कुरा गर्ने प्रयास गरेपनि सफल हुन नसकेको उनले बताए ।