म्युजिक भिडियो : स्टारका गीत फ्लप, फरक गीत सुपरहिट - Crazysaptahik.com

म्युजिक भिडियो : स्टारका गीत फ्लप, फरक गीत सुपरहिट

गायक, गीतकार तथा संगीतकार देवेन्द्र बब्लुले तयार पारेको ‘म त पर्खेको पर्खै छु’ बोलको गीतले १३ दिनमै युटुबमा साढे २२ लाख भ्युज बटुलिसकेको छ । यो गीतलाई स्रोता–दर्शकले छोटो समयमा नै माया दिएका छन् । भिडियोमा स्टार कलाकार छैनन् । दीपेश सागर र रोशनी कार्कीले अभिनय गरेका छन् । स्टार कलाकारविना पनि दर्शकले यो गीतलाई नै मन पराए ।

विगत केही महिनादेखि नै हिट गीत दिन नसकेर सुनसान भनेको गज्जबको टीभीमा एक साताअघि ‘कर्कलो कोक्याउला’ बोलको गीत सार्वजनिक भयो । यो गीतमा हरिवंश आचार्य र समीक्षा अधिकारीको स्वर छ । चेलिबेटी बेचबिखनको कथामा बनेको यो गीतलाई पनि दर्शकले निक्कै माया दिए ।

भिडियोलाई एक साता नबित्दै १५ लाख बढी पटक हेरिएको छ । हरिवंश आचार्य, स्वस्तिमा खड्का जस्ता कलाकारले काम गरेको यो गीतको अडियो र भिडियो दुवैलाई दर्शकले मन पराएका छन् । गज्जबको टीभीबाट विगत केही महिनादेखि स्टार कलाकार राखेर निर्माण भएका भिडियोले भ्युज नपाएर निर्माता सरोज वली तनावमा थिए ।

उनलाई फरक शैलीको यो गीतले राहत दिएको छ ।युट्युबमा दुई वर्षदेखि एकै खालका गीतहरु धेरै सार्वजनिक भए । जसका कारण कलाकार र त्यस्ता प्रकारका गीतसँग नै दिक्क भएका दर्शकले फरक स्वादलाई साथ दिन थालेका छन् ।आर्यन सिग्देल, वर्षा राउत, पल शाह, आकाश श्रेष्ठ, पूजा शर्मा, पुष्प खड्का, आँचल शर्मा लगायतका कलाकारले अभिनय गरेको गीतले दर्शकको साथ नपाइरहेको समयमा फरक स्वाद दिने गीतले भने दर्शकको साथ पाएका छन् ।

अभिनेत्री स्वस्तिमा खड्काले नै अभिनय गरेका थुप्रै भिडियोले दर्शकको साथ नपाउँदा उनले नै अभिनय गरेका फरक शैलीका र सुमधुर गीतले भने दर्शकको साथ पाएका छन् । यसैले मेकरलाई दर्शकले अब फरक गीतको बजारमा आवश्यकता छ भन्ने सन्देश दिइरहेका छन् । तर, थोरै मात्र मेकरले यो कुरा बुझेको देखिन्छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.