आर्यनको फिल्म ‘डिसेम्बर फल्स’ले तान्न सकेन दर्शक, मल्टिप्लेक्समा शो कटौती - Crazysaptahik.com

आर्यनको फिल्म ‘डिसेम्बर फल्स’ले तान्न सकेन दर्शक, मल्टिप्लेक्समा शो कटौती

फिल्म प्रदर्शनअघि ‘डिसेम्बर फल्स’का निर्माता रामप्रसाद रिजालले दुईवटा दाबी गरेका थिए । पहिलो– फिल्मले ९ करोड रुपैयाँ कमाउँछ र दोस्रो– यो फिल्म फाइभस्टारको मःम हो ।

निर्माताको दाबी विपरीत यो फिल्मले बक्स अफिसमा कमजोर व्यापार गरेको छ । ल्होसार र अंग्रेजी नयाँवर्ष २०२३ को छेकोलाई समेत फिल्मले आफ्नो हितमा प्रयोग गर्न सकेन ।

पहिलो सप्ताहन्तमै ‘वर्ड अफ माउथ’ प्राप्त गर्न नसकेपछि ठूला मल्टिप्लेक्सले शोमा कटौती गरेका छन् । शुक्रबार र शनिबार दुई दर्जन शो दिएको क्यूएफएक्सले सोमबार १६, मंगलबार ९ र बुधबार २ शो दिएको छ ।

बिग मुभिजले सोमबार तीन शो दिएको छ भने वान सिनेमाजले सोमबार पाँच र मंगलबार तीन शो दिएको छ । शो कटौतीको अर्थ फिल्मको व्यापारमा गिरावट आएको छ भन्ने हो ।

फिल्मले दर्शकलाई हलसम्म तान्न अपील सिर्जना गर्न सकेन । शुक्रबार ४० प्रतिशत हाराहारीमा ओपनिङ अकुपेन्सी रहे पनि सोमबारको अकुपेन्सी १० प्रतिशतभन्दा तल छ जुन निकै कमजोर हो । फिल्ममा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सलोन बस्नेत लगायतको अभिनय छ ।

सम्बन्धित खवर