नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको फिल्म ‘पञ्चायत’ यसै साता इन्टरनेटमा रिलिज भएको छ । सरोज खनाल, रुपा राना, नीता ढुंगानाको प्रमुख अभिनय रहेको फिल्म सोमबार युट्युब नेपाल ट्रेण्डिङको तेस्रो स्थानमा छ ।
यो समाचार तयार पार्दासम्म फिल्मलाई युट्युबमा करिब ७ लाख ७५ हजार पटक हेरिएको छ ।यो फिल्मले अमेरिकाको ‘सान फ्रान्सिस्को चलचित्र महोत्सव’मा विदेशी भाषातर्फको उत्कृष्ट फिल्म र अभिनेत्रीतर्फ अवार्ड जितेको थियो ।
अभिनेत्री ढुंगाना उत्कृष्ट अभिनेत्री घोषित भएकी थिइन् ।फिल्ममा जाह्न्वी बस्नेत, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ, रवि अधिकारी लगायतको समेत अभिनय छ ।
रवि अधिकारी कार्यकारी निर्माता र गणेश गिरीको प्रस्तुति रहेको फिल्मको निर्माता सुशान्त श्रेष्ठ र शंकर सुवेदी हुन् । लेखन तथा निर्देशन शिवम् अधिकारीले गरेका हुन् ।
बागलुङमा छायांकन गरिएको फिल्मले २०३१ सालतिर तत्कालीन पञ्चायतको न्याय र शासन प्रणालीको कारण कसरी महिलाहरु पीडित हुनुपर्थ्यो भन्ने कुरालाई चित्रण गर्छ ।