पाइलट समेत रहेका अभिनेता विजय लामाले फिल्म ‘अन्तिम संस्कार’ हल रिलिज भइरहेका भन्दा बिल्कुलै भिन्न भएको दाबी गरेका छन् । उनले यो फिल्मलाई हालै मात्र दिवगंत भएका बुवाले दिएको गिफ्टको रुपमा लिएको समेत बताए ।
‘यो फिल्म भावनात्मक हिसाबले पनि विशेष छ । मलाई बुवाले नै चलचित्र क्षेत्रमा ल्याउनुभएको हो । बिदा हुँदा पनि मलाई चलचित्र दिएर जानुभयो,’ उनले भने । बुवाको अन्तिम संस्कार गरिरहेको समयमै यो फिल्म साइन गरेको उनले बताए ।
हिमालपारिको जिल्ला मुस्ताङमा माइनस डिग्री तापक्रममा फिल्म छायांकन गरिएको स्मरण समेत उनले गरे । दिनको १८ देखि २१ घण्टासम्म खटिएर छायांकन गरिएको समेत उनले बताए । यो फिल्मका लागि २० किलो तौल घटाएको समेत उनले बताए ।
आफूले हरेक फिल्ममा फरक खोज्ने गरेको र ‘अन्तिम संस्कार’मा त्यो कुरा पाएपछि काम गरेको अभिनेता लामाले बताए । ‘कलाकार भएपछि केही फरक गर्नुपर्छ । केही चुनौती मोल्न सक्नुपर्छ,’ उनले भने, ‘यो खालको चलचित्रमा काम गर्न जो कोही नेपाली कलाकारले आँट गर्न सक्दैनन् ।’
‘अन्तिम संस्कार’लाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । सामाजिक एवं सांस्कृतिक कथावस्तुमा फिल्म निर्माण भएको हो । ‘मर्डर मिसयुज’को कथालाई समावेश गरिएको छ । ‘यो चलचित्र हाम्रो आफ्नो कथा हो ।
नेपालीको कथा हो । यसमा रहस्य पनि छ । यसमा परम्परा पनि छ । यसमा इमोसन पनि छ,’ उनले भने, ‘एकदमै मेहनत गरेका छौं । दर्शकहरुले रुचाउनुहुन्छ भन्ने पूर्ण विश्वास छ,’ उनले भने ।
फिल्ममा दीया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जनको पनि अभिनय छ । यो फिल्मबाट विश्व रेकर्ड राख्ने योजना समेत रहेको लामाले बताए । लामाले हलिउड फिल्म ‘एभरेस्ट’मा समेत छोटो भूमिकामा अभिनय गरेका छन् ।