चर्चित गीत ‘बादलुको घुम्टोमाथि’ फिल्म निर्माण गर्दै यम बराल - Crazysaptahik.com

चर्चित गीत ‘बादलुको घुम्टोमाथि’ फिल्म निर्माण गर्दै यम बराल

झण्डै तीन दशकअघिको चर्चित गीत ‘बादलुको घुम्टोले’मा आधारित रहेर गायक यम बरालले फिल्म निर्माण गर्ने भएका छन् । उक्त गीतको स्थायीको शब्द टिपेर फिल्मको नामकरण गरिएको छ, तिमीलाई सम्झिंदा ।’

म्युजिकल लभस्टोरी बताइएको यो फिल्ममा बरालले गायकको भूमिकामा अभिनय समेत गर्नेछन् । शिवम् अधिकारीले फिल्मको पटकथा तथा संवाद लेखिरहेका छन् । निर्देशक र कलाकार तय हुन बाँकी रहेको फिल्मको दुई सातामा पत्रकार सम्मेलनमार्फत आधिकारिक घोषणा गरिने भएको छ ।

फिल्ममा नयाँ कलाकारलाई प्राथमिकता दिने सोच रहेको गायक बरालले बताए । ‘बादलुको घुम्टोले गीतको अहिलेसम्म म्युजिक भिडियो बनेको थिएन । धेरैले भिडियो बनाउन सुझाउनुभयो । तर मलाई फिल्म निर्माण उचित लाग्यो र काम थालेका छौं,’ उनले भने ।

फिल्ममा तीन गीत समावेश हुने र दर्शकले यो फिल्ममा ‘बादलुको घुम्टोले’लाई नयाँ संस्करणमा सुन्न सक्ने बरालले बताए । ‘सो गीत नयाँ भर्सनमा आउँदैछ,’ उनले भने । अमेरिकामा बसोबास गरिरहेका डेभिड लाम्नागेसँग मिलेर बरालले फिल्म निर्माणमा सहकार्य गर्दैछन् ।

इलाम, झापा र मुलुकका अन्य पर्यटकीय थलोमा फिल्म छायांकन गर्ने तयारी छ । भोला सुवेदी फिल्मका निर्माण नियन्त्रक रहनेछन् ।

सम्बन्धित खवर