मदनदास श्रेष्ठ भन्छन्– दोलखा फिल्म सिटी हरेक किसिमले उपयुक्त - Crazysaptahik.com

मदनदास श्रेष्ठ भन्छन्– दोलखा फिल्म सिटी हरेक किसिमले उपयुक्त

पाका कलाकार मदनदास श्रेष्ठले नेपाली चलचित्रको लागि हरेक किसिमले दोलखा फिल्म सिटी उपयुक्त हुने बताएका छन् । उनले भने, ‘राष्ट्रिय, अन्तर्राष्ट्रिय अध्ययन अवलोकन गरेर त्यहाँ फिल्म सिटी बनाउन उपयुक्त मानिएको हो ।’

फिल्म सिटीलाई लिएर भइरहेका टिप्पणीबारे लक्षित गर्दै श्रेष्ठले दोलखाको विकल्प दिन समेत चुनौती दिए । ‘स्थानीय पर्यटन विकासका लागि म निरन्तर लागिरहेको र मेरो जन्मथलो भएकाले त्यहाँ फिल्म नगरी बनाउन म लागिपरेको छु,’ उनले भने ।

निर्देशक मनोज पण्डितसहितका केही फिल्मकर्मीले दोलखा फिल्म सिटी नेपाली चलचित्र क्षेत्रको लागि व्यावहारिक नहुने भन्दै त्यसलाई रोक्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

साथै उनले दोलखामा आयोजित चलचित्र निर्देशक समाजको कार्याशाला सफल बनाउन मात्र ‘रणनीतिक कार्ड’को रुपमा फिल्म सिटीलाई अघि सारिएको तर्क पेस गरेका थिए । यसबारे टिप्पणी गर्दै अभिनेता श्रेष्ठले विरोधका लागि विरोध उचित नहुने बताए

। ‘विरोध गर्नेले विकल्प दिन सक्नुपर्छ,’ उनले भने, ‘निर्देशक समाजको कार्यशाला सफल बनाउन मैले आर्थिक सहयोग पनि गरेको थिएँ । उहाँहरुले यो कुरा पनि बुझ्नुपर्छ ।’ फिल्म सिटी निर्माण कार्य भइरहेको भन्दै श्रेष्ठले १२ करोड ४५ लाख रुपैयाँमा सडक कालोपत्रे भएको बताए ।

तीनवटा प्रशासनिक भवन, होटल, बिजुलीको पोल, खानेपानीको धारा बनिसकेको उनले जनाए । सरकारी लगानी भइसकेकाले पार्कको रुपमा फिल्म सिटीको विकास गर्न सकिने श्रेष्ठले धारणा राखे ।

फिल्म सिटी निर्माणको प्रक्रिया सुरु भएको ११ वर्ष बिते पनि ढिलासुस्ती भएको भन्दै कतिपय ठाउँबाट आवाज पनि उठेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको एक समूहले यसै साता फिल्म सिटी निर्माणस्थल पुगेर अध्ययन अवलोकन गरेको थियो ।

बोर्ड अध्यक्ष भुवन केसीले फिल्म सिटी स्थापना हुन सके नेपाली फिल्म क्षेत्रलाई खुसीको कुरा हुने बताएका थिए ।

सम्बन्धित खवर