जापानमा ‘कबड्डी ४’को रेकर्डलाई ‘छड्के २’ले तोड्ला ? - Crazysaptahik.com

जापानमा ‘कबड्डी ४’को रेकर्डलाई ‘छड्के २’ले तोड्ला ?

पछिल्लो समय जापान नेपाली फिल्मको ठूलो डायस्पोरा बजार बनिरहेको छ । ‘कबड्डी ४’ र ‘प्रेमगीत ३’ले त्यहाँ राम्रो कमाइ गरे । यी दुई फिल्मको सफलतापछि आगामी मार्च ५ मा टोकियोस्थित नाकानो जेरो हलमा अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ प्रदर्शन हुँदैछ ।

यो सँगै फुकुओका, ओसाका, नागोया, गुन्मा, सिजोउका, फुकुयामा, सेन्दाई, चिवासहित २० सहरमा समेत फिल्म रिलिज हुँदैछ । जापान अधिकार खरिद गरेका सचिन आचार्यका अनुसार फिल्मलाई लिएर त्यहाँका दर्शकमाझ पर्खाइ छ ।

‘कबड्डी ४’ कै तुलनामा फिल्मले राम्रो कमाइ गर्न सक्ने उनको प्रक्षेपण छ । ‘फिल्मको ट्रेलर नआउँदै दर्शकमाझ फिल्मलाई लिएर क्रेज देखिएको छ’ आचार्यले भने, ‘नेपाली सिनेमा धेरै भन्दा धेरै जापानमा बसोबास गर्ने नेपाली समुदायमाझ पुगोस भन्ने इच्छा पनि छ ।

त्यसैले मेरो प्रयास भनेको सानो भन्दा सानो जमात पनि फिल्म हेर्न पुगोस् भन्ने नै हो ।’ पछिल्लो समय जापानमा आधा दर्जनभन्दा बढी फिल्म प्रदर्शन भएपनि दर्शकमाझ प्रचारप्रसार पर्याप्त हुन नसक्दा व्यवसायिकरुपमा सफल हुन नसकेको बताइएको छ ।

‘छड्के २’ राजधानी टोकियोभन्दा बाहिरका सहरमा पनि विक्री हुनुले यसको प्रचारप्रसार ब्यापक भएको वितरक आचार्यको कथन छ । निगम श्रेष्ठ निर्देशित फिल्ममा अनमोलसहित रविन तामाङ, रेशा आले लगायतको अभिनय छ । जडिबुटी तस्करी र बदलाको कथावस्तुमा बनेको फिल्मलाई प्रशान्त गिरीले निर्माण गरेका हुन् ।

सम्बन्धित खवर