अभिनेता दयाहाङ राई र निर्देशक दीपक श्रेष्ठले फिल्ममा सहकार्य गर्ने भएका छन् । निर्माण कम्पनी र अभिनेता राईबीच मंगलबार सम्झौतामा हस्ताक्षर भएको छ । पछिल्लो समय दयाहाङले धमाधम फिल्म साइन गरिरहेका छन् ।
शीर्षक तय भइनसकेको फिल्मका लागि थप एक जना पुरुष र महिला कलाकार तय हुन बाँकी रहेको जनाइएको छ । माघ २० गतेदेखि छायांकन सुरु हुने फिल्म प्रेमको कथावस्तु र हास्य शैलीमा निर्माण हुने जनाइएको छ ।
पूर्वी नेपालको इलाम र भारतको सिक्किममा फिल्म छायांकन गर्ने तयारी छ । फिल्मलाई प्रमिस इन्टरटेनमेन्ट र तपश्री प्रोडक्सनको ब्यानरमा निर्माण गर्न लागिएको हो । फिल्मका निर्माता कोमल गुरुङ र प्रस्तुतकर्ता केवल तामाङ हुन् ।
फिल्मले नेपाल र सिक्किमको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशा निर्माताले लिएका छन् । दयाहाङले यसअघि पनि सिक्किमका फिल्ममा काम गरिसकेका छन् । प्रस्तुतकर्ता तामाङले ‘पर्यटनका लागि सिनेमा’ भन्ने उद्देश्यसहित फिल्म निर्माण हुन लागेको बताए ।