पृथ्वीनारायण शाहमाथि बायोपिक फिल्म बनाउँदै रमित ढुंगाना - Crazysaptahik.com

पृथ्वीनारायण शाहमाथि बायोपिक फिल्म बनाउँदै रमित ढुंगाना

नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको जीवनमाथि अभिनेता रमित ढुंगानाले फिल्म निर्माण गर्ने भएका छन् । चलचित्र विकास बोर्डमा रमित ढुंगाना फिल्म प्रोडक्सन प्रालिको तर्फबाट ‘पृथ्वीनारायण शाह’ शीर्षकमा फिल्म दर्ता भएको छ ।

बुधबार पृथ्वी जयन्ती मनाइरहँदा रमितले यो फिल्मको पटकथा लेखन भइरहेको जानकाररी दिए । बायोपिक जनरामा निर्माण हुने फिल्मको स्क्रिप्टलाई शिवम् अधिकारीले दुई वर्षदेखि लेखिरहेको रमितले बताए ।

‘अहिले हामी यसका लागि अध्ययन अनुसन्धानमा जुटिरहेका छौं । तथ्य गलत हुनुभएन । विदेशीसँग तुलना गर्दा पनि राम्रो देखिनुपयो । सबै नेपालीले गौरव गर्ने फिल्म बनाउने हाम्रो उद्देश्य हो,’ रमितले भने ।

बोर्डमा फिल्म दर्ता गर्दा यसको बजेट एक करोड रुपैयाँ उल्लेख भए पनि अहिले भने निकै महंगो पर्न आउने देखिएको रमितको भनाइ छ । यसका लागि नेपाली सेनासँग पनि सहकार्यका लागि छलफल भइरहेको उनले बताए ।

‘पृथ्वीनारायण शाह नेपाली सेनाको संस्थापक भएकाले पनि सेनासँग सहकार्य गर्न सकिन्छ कि भनेर कुरा भइरहेको छ । छायांकनका लागि आवश्यक शस्त्रअस्त्रका कुरामा पनि सेनाले सहयोग गर्न सक्छ,’ उनले भने, ‘सेनाबाहेक सरकारसँग पनि यसबारे कुरा हुन्छ ।’

फिल्मका लागि भनेर गत महिना रमित गोरखा दरबारमा पनि अध्ययन अवलोकनका लागि पुगेका थिए । सिन्धुलीगढी पनि पुगेर तथ्य संकलनको कार्य भइरहेको उनले जनाए । ‘गरेपछि राम्रो गर्नुपर्छ भन्ने हो ।

गाह्रो पक्कै छ तर हामी अघि बढ्छौं,’ उनले भने । पृथ्वीनारायण शाह फिल्मलाई नेपालीसहित विभिन्न भाषामा निर्माण गर्ने योजना छ । रमितले यसअघि ‘बुद्ध बर्न इन नेपाल’ फिल्म निर्माण गरेका थिए ।

जसका लागि उनले अहिले पनि यो अभियान चलाइरहेका छन् । रमितको आगामी बायोपिक फिल्म ‘मुस्कान’ आगामी महिनादेखि छायांकनमा जाने तयारी छ । एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमाथि बन्ने यो फिल्ममा केही राजनीतिज्ञले पनि अभिनय गर्ने चर्चा छ ।

‘जब मैले मेरो हात समातेर मुस्कान बहिनी रोएको दृश्य देखें र देशका लागि केही गर्छु भनेर बोलेको सुनें, तब बायोपिक फिल्म निर्माणको रुचि ममा जाग्यो,’ उनले भने ।

सम्बन्धित खवर