विश्व प्रतिष्ठित सुन्दरी प्रतियोगिता मिस युनिभर्सको ७१ औं संस्करण बिहीबारदेखि अमेरिकाको न्यु अर्लियन्समा औपचारिक रुपमा सुरु भएको छ । नेपाली समयानुसार पहिलो दिन बिहीबार र सुन्दरीहरुले नेसनल कस्ट्युम प्रस्तुत गरे ।
साथै ८० प्रतिस्पर्धी मुलुकबारे पनि चिनारी गराइएको थियो । प्रतिस्पर्धीले आफ्नै आवाजमा चिनारी गराएका थिए । नेपालबाट यसपटक सोफिया भुजेलले प्रतिनिधित्व गरिरहेकी छन् ।
सोफियाले त्रिशुल समातेकी देवीको लुक्समा नेपालको प्रतिनिधित्व गरिन् । प्रेरणा शाहको कन्सेप्टमा वुमन्स प्लानेट बुटिकले यो डिजाइन तयार पारेको थियो । यो पहिरनले सृष्टिकी मुहान नारीलाई प्रेरणाको स्रोतको रुपमा लिनुपर्छ भन्ने सन्देश दिन्छ ।
बिहीबारदेखि मिस युनिभर्समा प्रारम्भिक चरणका प्रतिस्पर्धा सुरु भएका छन् । जसमा नेसनल कस्ट्युमदेखि स्वीमसुट विधा पनि समावेश हुन्छन् । नेसनल कस्ट्युममा जित्न सके सेमिफाइनलमा पुग्न सकिने समेत जनाइएको छ । तर फिनाले चाहिं जनवरी १४ मा आयोजना हुँदैछ ।
मिस युनिभर्स संसारका उत्कृष्ट पाँच ब्युटी पेजेन्टमध्ये एक हो । यसको स्वामित्व एसियाली मुलुक थाइल्याण्डले लिएपछि पहिलोपटक अमेरिकामा संस्करण भइरहेको हो ।
मिस अर्थ र मिस इन्टरनेसनल पेजेन्ट सम्पन्न भइसकेका छन् भने मिस वल्र्ड हुन बाँकी छ । मिस नेपाल प्रियंकारानी जोशी मिस वल्र्डको तयारीमा जुटेकी छन् ।