नेपालमा ‘अवतार २’को कमाइ ९ करोड ग्रस नाघ्यो - Crazysaptahik.com

नेपालमा ‘अवतार २’को कमाइ ९ करोड ग्रस नाघ्यो

 

हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ले चार सातामा नेपाली बक्स अफिसमा ९ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । ट्वेन्टिथ सेन्चुरी स्टुडियोको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले चौथो आइतबारसम्म फिल्मले उक्त आँकडा पार गरेको जनाएको हो ।

उक्त कमाइ गर्दै ‘अवतार २’ कोरोना भाइरस महामारीयता नेपाली बक्स अफिसमा सर्वाधिक धेरै कमाइ गर्ने हलिउड फिल्म बनेको छ । ‘स्पाइडरम्यान : नो वे होम’को ७ करोड ३० लाख रुपैयाँ ग्रसको लाइफटाइम कलेक्सनलाई फिल्मले यसअघि नै उछिनिसकेको थियो ।

‘अवतार २’को नेपालको लाइफटाइम कलेक्सन १० करोड पुग्ने प्रक्षेपण एप्पलले गरेको छ । यो फिल्म क्यूएफएक्स, आईएनआई, वान सिनेमाज, मिडटाउन, एफक्युब, बिग मुभिजसहित मुलुकका प्रमुख मल्टिप्लेक्समा प्रदर्शन भइरहेको छ ।

प्रदर्शनको चौथो सातामा पनि विकडेजमा फिल्मको अकुपेन्सी २० देखि ४० प्रतिशत देखिएको छ । यसैबीच, विश्व बक्स अफिसमा फिल्मको लाइफटाइम कलेक्सन २.६ बिलियन डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वितरण स्टुडियो ट्वेन्टिथ सेन्चुरीले २.६ बिलियन डलर कमाइ गर्ने उल्लेख गरिएको छ । ‘अवतार २’ अहिलेसम्म विश्वमै धेरै कमाउने सातौं फिल्म समेत बनेको छ । ‘अवतार १’ले २.९२ बिलियन डलर कमाउँदै धेरै कमाउने फिल्मको रेकर्डलाई कायमै राखेको छ ।

सम्बन्धित खवर