बोर्डको अध्यक्ष भएपछि मुद्दा हालेर मलाई काम गर्न दिइएनः भुवन केसी - Crazysaptahik.com

बोर्डको अध्यक्ष भएपछि मुद्दा हालेर मलाई काम गर्न दिइएनः भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढीरहेको भन्दै त्यस्ता क्रियाकलाप गर्नेलाई जरिबाना र फिल्ममा हुने क्षति तिराउने गरी कानून निर्माण गर्न लागिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको चलचित्र निर्माताहरुको वृहत भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । पछिल्लो समय नेपाली फिल्म बनाउन धेरै नै गाह्रो भइरहेको बताए ।

उनले चलचित्र निर्माणका लागि स्टुडियो, प्रहरीको भ्यान लगायतका स्वीकृति लिन नै झन्झट व्यहोर्नुपरेको बताए । उनले नेपाली निर्माताहरु फिल्म निर्माणका लागि घरखेत बेचेर लाग्ने गरेको तर युट्युब पत्रकारहरुले सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरुलाई ठूलो क्षति भइरहेको बताए ।

कुनैपनि व्यक्तिले अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभइ जरिबाना र फिल्ममा परेको क्षतिपूर्ति तिराउन सरकारसँग माग गरिएको बताए । उनले भने, ‘नेपाली फिल्म बनाउन धेरै गाह्रो भइरहेको छ ।

कुनैबेला स्टुडियो हुँदैन, प्रहरीको भ्यान चाहिन्छ, त्यो स्वीकृति लिँदालिँदै सात दिन लाग्छ । सुटिङ अहिले ड्रोन नभइ हुँदै हुँदैन, त्यो अनुमति लिन जाँदा ४ ठाउँ पुग्नुपर्छ । यो समस्या छ ।

साथै सबैभन्दा ठूलो समस्या नेपाली निर्माताहरुलाई एउटा निर्माताले घरखेत बेचेर सुटिङ गरिरहेको हुन्छ, क्यामेरा ल्याएर खिचेर त्यो युट्युबमा हालिदिन्छ । सुटिङको दृश्य आउट । हल भित्र गएर सिनेमा हेर्छ, सिनहरु हाल्दिहाल्छ ।

यसले हामीलाई ठूलो मर्का परेको छ । यदी कुनैपनि व्यक्तिले यस्तो क्रियाकलाप गर्छ भने त्यसलाई कडा भन्दा कडा सजाय मात्रै होइन, जरिबाना र क्षति पनि तिराउनुपर्छ भनेर माग राखेका छौँ ।’

अध्यक्ष केसीले चलचित्र विकास बोर्डको अध्यक्ष भएर आएको ५÷६ महिना मात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरे । उनले आफू कुन बेला निस्किन्छ र म चलचित्र विकास बोर्डको अध्यक्ष बनौँ भन्ने लोभ गर्ने मान्छेहरुले काम गर्न नदिएको बताए ।

उनले आफ्नो कार्यकालमा चलचित्र विकासको लागि राम्रा काम गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘म त आएको भर्खर ५÷६ महिना भयो, आएदेखि राम्रा काम गर्छु भनेर लाग्यो के के भइदिन्छ बीचमा ।

मुद्दाहरु हाल्नुभएको छ, अदालतमा पनि जानैपर्छ । कोही साथीहरुलाई कुनबेला यो यहाँबाट जान्छ र म आऔँ भन्ने भएको छ । मेरो उमेरमा अरु त रिटार्यमेण्टमा हुन्छ, म त भर्खर केही गरौँ भनेर आइरहेको छु ।

विकास बोर्डमा रहेसम्म कलाकारिता क्षेत्रको हक र हीतको लागि केही गरेर नै बस्नेछौँ । निर्माताहरु एकजुट भएर अघि बढेमा हामी सफल हुनेछौँ ।’अध्यक्ष केसीले चलचित्र विकास बोर्डका लागि आवश्यक बजेट सरकारले दिन नसकेको गुनासो गरे ।

सम्बन्धित खवर