आशुसेन र दिनेश राउतको फिल्म गर्ने पक्का प्रदीपले - Crazysaptahik.com

आशुसेन र दिनेश राउतको फिल्म गर्ने पक्का प्रदीपले

अभिनेता प्रदीप खड्काले २०८० सालमा निर्देशकद्वय सन्तोष सेन र दिनेश राउतसहितका तीन नेपाली फिल्ममा काम गर्ने निश्चित भएको छ । अभिनेता खड्काले वैशाखमा कुनै ब्यानरको एक फिल्म, भदौ–असोजमा राउतको र दशैंपछि आशुसेनको आगामी फिल्ममा काम गर्ने जानकारी दिए ।

भदौपछि राउतको आगामी फिल्ममा काम गर्ने समझदारी भएको उनले जनाए । ‘प्रकाश’पछि दिनेश र प्रदीपबीच दोस्रो प्रोजेक्टमा सहकार्य हुन लागेको हो । ‘प्रेमगीत ३’ निर्माण कम्पनी आशुसेनको आगामी एक फिल्ममा समेत प्रदीपले खेल्न लागेका छन् ।

यसको छायांकन दशैंपछि गर्ने तयारी छ । आशुसेन र प्रेमगीत ३ को भारतीय वितरण कम्पनी स्पार्किङ स्टुडियोले मिलेर बनाउन लागेको यो संयुक्त लगानीको फिल्मको छायांकनमा सुरुदेखि नै प्रदीप सहभागी हुने भएका छन् ।

६ महिना स्क्रिप्टमा काम गर्नुपर्ने भएकाले यो फिल्मलाई दशैंपछि खिच्ने योजना रहेको उनले जनाए । यो प्रोजेक्ट निर्माणमा भारतीय निर्माता सुवास काले पनि संलग्न हुनेछन् । वैशाखमा भने कुनै एक ब्यानरको फिल्ममा काम गर्ने उनको योजना छ ।

यसका लागि उनले स्क्रिप्ट सुनिरहेका छन् भने विचार बुझिरहेका छन् । ‘आजसम्म चारवटा स्क्रिप्ट सुनें, अरु थप दुई–तीनवटा स्क्रिप्ट सुन्दैछु । यीमध्ये कुनै एक फिल्ममा काम गर्छु । तर कुनै फिल्ममा साइन गरेको छैन,’ खड्काले भने ।

निर्देशक दीपक वलीको अनटाइटल फिल्ममा चर्चा चले पनि आफूले अहिलेसम्म कुनै फिल्ममा साइन नगरेको समेत प्रदीपले बताए । ‘सुनिरहेका आधा दर्जनभन्दा बढी फिल्ममध्ये जुनसुकैमा साइन हुनसक्छ । यो भन्ने अहिले निश्चित छैन,’ उनले भने ।

सम्बन्धित खवर