पञ्चायत नमुनामाविको शैक्षिक अवलोकन भ्रमण - Crazysaptahik.com

पञ्चायत नमुनामाविको शैक्षिक अवलोकन भ्रमण

कोरोना संक्रमणकाल लम्बिएसँगै विगत दुइटा वर्षयता शैक्षिक भ्रमण गरिएको थिएन । भय र त्रासमुक्त यस वर्ष भने शैक्षिक भ्रमणमा निस्कने सल्लाहभयो । विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकीको छनौट र सहकर्मी बुद्धिनाथ अधिकारीको सल्लाहमा म भ्रमणमा जानतयार भएँ । भ्रमणको तयारीमा उत्साह र उर्जा दुबै थियो । सहायक प्राचार्यको जिम्मेवारीमा समेत रहनुभएका सहकर्मी बुद्धिनाथ अधिकारीको योजनाअनुसार हामी अघिल्लो दिन साँझपख विद्यालयमा भेला भयौँ ।

 

गतपौष १३ र १४ गते तेह्रथुमको ऐतिहासिक तीनजुरे जाने निधो गरेसँगै हामी भ्रमणको औपचारिक तयारीमा अघि बढ्यौँ । मेरा लागि यो भ्रमणको तीनजुरे यात्रा पहिलोपटक थियो । कस्तो होला तीनजुरे मनमा कुरा खेलिरहेका थिए । बुद्धिनाथ सरको सूचना अनुसार पहिलो दिन बिहान पौने ७ बजेतिर विद्यालय परिसरमा जुटेका थियौँ । कक्षा १२ सम्मका विज्ञान संकायका विद्यार्थीहरू लिएर जानुपर्ने भ्रमण आफैंमा निकै महत्वपूर्ण थियो । भ्रमण अध्ययन र अवलोकनमा रहने विद्यार्थीलाई अभिभावकत्वपूर्ण स्नेह दिने शिक्षक सहकर्मीमा चक्रधर गौतम, पारस नेपाल र राजेन्द्र दाहाल थियौँ । ३५ जनासम्म अटाउन सक्ने दुइटा भूल्के बसमार्फत अघि बढिएको यो भ्रमण पौषको चिसोलाई छिचोल्दै अघि बढ्नु सामान्य थिएन । भ्रमणप्रति एकाएक विकसित जाँगर, उर्जा र उत्साहले चिसोको पनि धेरै प्रवाह नगरी यात्रा अघि बढ्यो, पौने ८ नबझ्दै इटहरी पुग्यौँ ।

चारैतिर दिशानिर्देश गर्ने इटहरीको उत्तरतर्फ नियाल्दै हामी तरहरा लाग्यौँ । ठूलो, चौडा र फराकिलो ६ लाइनको बाटो छिचोल्न कत्तिबेर पनिलागेन धरानपुग्यौँ । धरानले हामीलाई जिस्क्याइरहेको थियो, जोर हातहल्लाउँदै र बाइबाइगर्दै हामी एकवेगले उकालो लाग्यौँ । हाम्रो ध्याउन्न उपलब्धीमूलक गन्तव्य पूरा गर्नमा सीमित थियो ।

 

बिहानको चिसो कटाउने चिया खाजा भेडेटारमा खाने सल्लाह भएअनुसार केहीबेर अलमलियौँ । भेडेटार नजिकै पुग्दादेखि नै देखिने मनमोहक दृश्यले हामीलाई लोभ्याइरहेको थियो । हामी उत्साहित मात्र होइन, लज्जित पनि थियौँ । श्रृंगारपेटार भएकी दुलहीझैँ लाग्यो यस्तो सुन्दर ठाउँको नाउँ किन भेडेटार राखिएको होला ? मनैमन प्रश्नोत्तर खेलाउँदै यात्रा अविराम अघि बढ्दै रह्यो । यति फराकिलो र सबैलाई अटाउन सक्ने भेडेटारलाई साँघुरीगढीका नाउँले किनसाँघुरो बनाएको होला ! किनकैद गरेको होला ! अर्को प्रश्न तैरियो । हुनतः हाम्रोमा सुको गोजीमा नभएका मानिसको नाउँ पनि धनकुमार, धनप्रसाद र धनबहादुर हुने गर्दछ । यो हाम्रो आफ्नै प्रचलनलाई सिको गर्दै चित्त बुझाउन सजिलो थियो ।

पाथीभरा मन्दिर, सिसुवा नमस्ते झरना र शंखपार्कलाई सँगसँगै लिएर चिसोतातोको प्रवाह नगरी मुस्कराइरहेको भेडेटार र साँघुरीगढीलाई साढे १० तिर छाडेर हामी अघि लाग्यौँ । नमस्ते झरनाको मोहित दृश्यले सबैलाई खिचेको थियो । प्रकृतिले त नमस्ते गर्छ, सचेत मानिसले एकापसमा किन नमस्ते नगर्ने मनैमन जिज्ञासा उब्जिरहेका थिए ।

 

नमस्ते झरनालाई फेरि भेट्ने बाचाकबोल सहितको नमस्ते गर्दै हामी मूलघाटतर्फ लाग्यौँ । प्रकृतिसँग रमाउँदा–रमाउँदै हातमा भएको घडी हेर्नुपर्छ भन्ने ख्यालै भएन, यतिबेला मध्यान्हको १२ बजेको हुनुपर्छ । चिसो अलिक मत्थर हुँदै गएको थियो । मूलघाटबाट एकातिरबाट पाँचथर पनि जान सकिन्छ भने अर्कोतिर तीनजुरे जाने मार्ग छ । लाबरबोटे मार्ग हुँदै अघि लाग्ने क्रममा नजिकै रहेको होटलमा मध्यान्हको खाना खाइयो । घरबाहिरको यो समूहगत सहभोज आफै मानव भोजको झल्को दिने थियो । यस क्रममा उब्जेका खुशीहरू साटासाट गर्दै हामी गन्तव्यतर्फ निस्क्यौँ ।

 

केहीबेरमै धनकुटा पुग्यौँ । पूर्वको धनकुटा कुनै बेला नेपालकै शैक्षिक गतिविधिको केन्द्र थियो । हामी शिक्षकका समकालीन विद्यार्थीले प्रायशः धनकुटा पढेको र व्यवहोर्नु परेको घटना बारे पनि विद्यार्थीलाई जानकारी दिनु नै थियो । गाडीभित्र यसबारे यथेष्ट चर्चा गर्दै हामी धनकुटा मास्थिरको सल्लाघारीमा हुँइकने चिसोलाई नमन गर्दै अघि बढ्यौँ । जति–जति उकालो उक्लन खोजिन्छ, उति–उति चिसोले हामीलाई जिस्क्याइरहेको हुन्थ्यो, घरि–घरि त धम्क्याइरहेको पनि हुन्थ्यो । दुलोभित्र पसेको सर्पलाई नचलाउनु भने जस्तै यो चिसोमा पटकपटक झ्याल ढोका खोल्न र गाडी बाहिर निस्कन सम्भव थिएन । आङ जिरिङ–जिरिङ गर्दै हाम्रो यात्रा क्रमशः गन्तव्य छिचोल्नमा केन्द्रीत थियो । मध्यान्ह साढे २ बजेतिर पाख्रिबास टेक्यौँ । कृषि अनुसन्धान केन्द्र समेत रहेको पाख्रिबास धनकुटा विकासको अभिन्न अंंग हो भन्ने कुरा यहाँ पुगेपछि मात्र छर्लङ हुँदोरहेछ ।

 

२०२८ सालमा बेलायत सरकारको सहयोगमा सम्पन्न भएको कृषि अनुसन्धान केन्द्रलाई २०५५ सालमा नेपाल कृषि अनुसन्धान परिषद् बनाएर हस्तान्तरण भएको रहेछ । राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान केन्द्र, कृषि अनुसन्धान केन्द्र र राष्ट्रिय बंगुर अनुसन्धान केन्द्र गरेर यस अन्तर्गत ३ वटा अनुसन्धान केन्द्रहरू सञ्चालित छन् । यहाँका प्राविधिक सहायक सविन विश्वकर्माले यसबारे विद्यार्थीलाई सबिस्तार चर्चा गर्दै अध्ययन अवलोकन गराउनु भएको थियो । यो क्रम सकेर हाम्रो यात्रा तीनजुरे तर्फको बाटो उकालो लाग्यौँ । पैदल यात्रुलाई मात्र होइन, गाडीलाई पनि उकालो उक्लन निकै गाह्रो हुँदोरहेछ, यसपटक महशुस भयो । मानिस कसरी उक्लँदो हो ! समथल भूक्षेत्रमा बसोबास गर्ने हामीले केहीबेर सोच्यौँ ।

 

सकसपूर्ण यात्रालाई छिचोल्दै साढे ५ बजेतिर हामी बसन्तपुर पुग्यौँ । लालीगुराँस नगरपालिका वडा नं. २ अवस्थित बसन्तपुर पुग्दा हामी लखतरान परेका थियौँ । घुम्ती काट्दै जाने कुराले हामी गलेर हैरान भएका थियौँ । यस दिनको यात्रा बजारको हिमालयन र बसन्तपुर भ्यू होटलमा पुगेर विश्राम दियौँ । पहाडी हावापानी उब्जेको दालसँग तराइको उत्पादित चामल मिलाएर खाएर हामी शयन विश्राममा लाग्यौँ । जोगीको घरमा सन्यासी पाहुना भने जस्तै हामी सबैले स्वयंंलाई चिसो, जाडो र सिरोटेबाट बचाउनु र स्वयंलाई सम्हाल्नुको विकल्प थिएन । न्यायो ओछ्यानको जोहो गर्दै मीठो निन्द्रामा रात बितायौँ ।

 

भोलिपल्ट बिहान बिहानै तीनजुरेतर्फ हानियौँ । बाटादोबाटामा भरखरै फूल्नलागेका गुराँसका फूलहरू देखेर हामी सम्मोहित थियौँ । पहाडी जिल्ला तेह्रथुम र संखुवासभाको सीमावर्ती टुटे देउरालीबाट ६ किलोमिटर अगाडि बढ्दा आउने टीएमजे होटलको अघिल्तिर वनभोज खायौँ । भ्रमण औपचारिक ढंगले विद्यालयले आयोजना गरेको भए पनि भ्रमणकालका सबै गतिविधिहरू औपचारिक हुँदैन । परस्पर खुब रमाउँदै कम्मर मर्काइ– मर्काइ नाच्यौँ । स्थानीयका अनुसार नजिकै रहेको सानो पाथीभरा मातामन्दिर दर्शन गर्न विद्यार्थीहरू लालयित भएका थिए । भ्रमण हो, यो पनि भ्रमण गर्नु जरुरी छ । निष्कर्ष निकालियौँ । पाथीभरा माताको आशीर्वाद लिएर फर्कने निधोका साथ भोलिपल्ट मध्यान्ह २ बजे यात्रारम्भको बिन्दु पहिल्याउँदै पथरी फर्कियौँ । झण्डै साढे ६ बजे घर–घर पुग्यौँ ।

 

देखेको र लेखेको, लेखेको र देखेको भावमिश्रित यो भ्रमणबारे सम्झना गरिरहँदा यो महत्वपूर्ण घटना–परिघटना रहनपुग्यो । आम विद्यार्थीका लागि यो पढाइ लेखाइको विषयभन्दा पनि देखेको र भोगेको यथार्थपरक अविस्मरणीय ज्ञान हुन्छ भन्ने बुझाइ आदानप्रदान गर्दै यसपटकको यो तीनजुरे यात्रा सम्पन्न गरेका छौँ ।

                                                                      –नियात्राकार,भूमिप्रसाद पाठक

 

 

 

सम्बन्धित खवर