क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं. २ मा अवस्थित सिन भिलेज पार्टी प्यालेसको सभाहल शुक्रबार निक्कै भिडभाड र गुन्जयमान थियो ।
स्टेज अगाडिको लाइनमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, वडा नं. २ का वडाध्यक्ष नैना राई, द भ्वाइस अफ किड्स सिजन ४ को फाइनलिष्ट निश्चल लिम्बु, प्याव्सन पथरी शनिश्चरेका प्रतिनिधिसँगै सञ्चारकर्मी, अलि पछिल्लो भागमा विद्यार्थी, अभिभावकहरुको घुइचो थियो । यो माहौल जुराएको थियो ब्रिटिश काउन्सिल इन्टरनेशनल स्कुल एवार्ड विजेता रेडस्टार अंग्रेजी बोर्डिङ स्कुलले ।
रेडस्टारले कक्षा–१२ (एस.एल.सी.) २०८२ मा २ जना नेपाल प्रथम सहित पथरी शनिश्चरेमै उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी तथा अभिभावकहरुका लागि बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।
विद्यालयका छात्रा कृतिका भट्टराईले सञ्चालन गरेको सो कार्यक्रममा विद्यालयका प्रिन्सिपल/ निर्देशक टि.एन. तिम्सिनाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्प प्रष्ट्याउनुभयो । त्यसपश्चात क्रमशः कक्षा १२ उत्तीर्ण विद्यार्थी तथा अभिभावकहरुलाई प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापोले बधाई तथा शुभकामना प्रदान गर्नुभयो । प्रमुख तुम्वापोले पथरी शनिश्चरेमै सबै विषय समूह मध्ये सर्वाेत्कृष्ट ३.९६ र ३.९२ जीपीए ल्याउन सफल चन्दन शाह, प्रवीण कटेल, मनिषा पोखरेल र प्रमिश रिजाल लगायत सबै विद्यार्थीहरुलाई रुद्राक्ष माला र मायाको चिनो सहितले सम्मान गर्नुभएको थियो ।
कार्यक्रमको बीच भागमा कक्षा–५ मा अध्ययनरत छात्र/ भ्वाइस अफ किड्स सिजन ४ को फाइनलिष्ट निश्चल लिम्बुले ३ वटा गीतहरु प्रस्तुत गरे । निश्चलले गीत प्रस्तुत गर्दा हलमा उपस्थिति अभिभावक, विद्यार्थी तथा अभिभावकहरुले तालीको पर्रा र सांगीतिक धूनमा चिच्याहट गरेका थिए । यस्तै विद्यार्थीहरुले साँस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए ।
रेडस्टारले शैक्षिक क्षेत्रमा एकपछि अर्काे फड्को मार्दै नगरको नाम उच्च राखी अघि बढिरहेको छ भने अध्ययनका अलवा अतिरिक्त क्रियाकलापमा पनि सधैं अघि बढिरहेको छ ।