क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ बुद्धचौकमा अवस्थित वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयले एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ ।
परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीलाई नगद रु. एक लाखको दरले पुरस्कार प्रदान गरेको छ । सोमबार हरियाली सामुदायिक वनको सभा हलमा एक भव्य कार्यक्रमका बीच बधाई तथा शुभकामना कार्यक्रम भएको थियो ।
वाल्मीकिबाट एसइई परीक्षामा आयुष्मा दाहाल र निश्चल न्यौपानेले ४ जीपीए—४ ल्याई उत्तीर्ण गरेका हुन । दुवै जना विद्यार्थीलाई नगद एक लाखको दरले पुरस्कार प्रदान गरेको छ ।
प्रदेशको राजधानी विराटनगर बाहिर वाल्मीकिबाट मात्र २ जना विद्यार्थीले जीपीए—४ ल्याएका थिए ।
वाल्मीकि मेमेरियल आवासीय मावि विद्यालय सञ्चालक समितिको अध्यक्ष नोवलकिशोर खनालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मोहन तुम्बापो, विद्यालयका प्रिन्सिपाल चन्द्र दुलाल लगायतको हातबाट टिका, माला र नगद प्रदान गरिएको थियो ।
यसैगरी जीपीए ३.९५ ल्याउने ३ जनालाई १० र ३.९० माथि ल्याउने ९ जनालाई ५ हजार र सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेको थियो । वाल्मीकिबाट परीक्षा दिने सम्पूर्ण विद्यार्थीले जीपीए—३.८ भन्दा बढी ल्याएर उत्तीर्ण भएका छन् । सो कार्यक्रममा विद्यार्थीहरुले सांगीतिक कोशेलीहरु पनि पस्केका थिए ।