‘के लत बस्यो’ भाइरल गीतको होडमा मन जितिरहेको एउटा गजल - Crazysaptahik.com

‘के लत बस्यो’ भाइरल गीतको होडमा मन जितिरहेको एउटा गजल

डा. प्रदीपकुमार मैनालीको रचना र तिलक सिंह पेलाको स्वर तथा संगीतमा रहेको यो गजल ‘के लत बस्यो मलाई’ यतिबेला नेपाली संगीतप्रेमीमाझ चर्चामा छ । टाइमलाइनमा यो गीतलाई अर्गानिक र आत्मपरक भन्दै संगीतकर्मीहरुले नै मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।

सरस शब्दावली र शेर बुनिएको यो गजल चार दिनअघि मात्र युट्युबमा रिलिज भएको हो । यो गजल सुनेपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी लेख्छन्, ‘खाँटी सृजना, स्वर र साधक कहिल्यै ओझेल पर्दैनन् ।

बरु कर्कस चिच्याहटहरु कुनै कालखण्डमा हाबी भएको देखिन्छ । तर यो सत्य हो कि केबल आफू मात्र बाँच्ने कि संगीत सिर्जना पनि बचाउने त्यो अत्यन्त महत्वपूर्ण चिन्तन हो । हार्दिक बधाई धन्यवाद यो साधना शिल्पी र स्वरका लागि श्रद्वेय श्रष्टाज्यूहरुमा ।’

सामाजिक सञ्जाल प्रयोगकर्ताले भाइरल गीतको होडमा यो गीतले मौलिकता र सिर्जना अझै कायम छ भन्ने सन्देश दिन खोजेको बताइरहेका छन् । रेकर्डिङदेखि भिडियो निर्माणसम्म ५० हजार रुपैयाँ खर्चमा बनेको यो गीतको स्वर पनि निकै सुमधुर सुनिन्छ ।

काठमाडौंको सानो भयाङस्थित श्रीकृष्ण गुरुकुल संगीत पाठशालामा संगीतका शिक्षक समेत रहेका तिलक सिंह पेलाको स्वरले प्रशंसा कमाइरहेको छ ।

गीतका एरेन्जर तथा रेकर्डिस्ट रिदम कँडेलले यो गीतको लोकप्रियता अनपेक्षित रहेको बताए । ‘बनाउने बेलामा यत्तिको हिट होला भनेर हामीले आशा राखेका थिएनौं । ५०० देखि हजार भ्युज मात्र भए पनि हुन्छ भन्ने लागेको थियो ।

तर अहिले जुन किसिमले भ्युज मिलिरहेको छ यसले गजलका श्रोता अझै पनि हुनुहुन्छ भन्ने हामीलाई बोध भएको छ,’ कँडेलले  भने ।सम्बन्धका हिसाबले गायक पेला र एरेन्जर कँडेल गुरुचेला हुन् ।

नौ कक्षा पढ्दै गर्दा कँडेलले पेलाबाट संगीतको कखरा सिकेका थिए । यो गीतको रेकर्डिङ र एरेन्ज गर्दा उनले ३० हजार रुपैयाँ पनि लिएका छन् । ‘पहिले पनि गुरुको भिडियो गरेकै हुँ ।

तर यसपटक नसोचेको रेस्पोन्स आइरहेको छ । म क्लासिकल संगीतको ब्याकग्राउण्डबाट आएकाले पनि गजल बनाउने योजना बन्यो,’ कँडेल भन्छन्, ‘यतिबेला किन चल्यो भन्ने कुराको उत्तर खोजिरहेका छौं ।’

सम्बन्धित खवर