खेसारीलाल सहभागी बर्जु महोत्सवमा यसपालि पनि झडप - Crazysaptahik.com

खेसारीलाल सहभागी बर्जु महोत्सवमा यसपालि पनि झडप

विराटनगर । सुनसरीमा भोजपुरी कलाकार खेसारीलाल यादव सहभागी एक कार्यक्रममा झडप हुँदा पाँच जना घाइते भएका छन् । मंगलबार सुनसरीको बर्जु गाउँपालिका– ६ मा आयोजित बर्जु महोत्सवमा भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव सहभागी कार्यक्रममा झडप भएको हो ।

झडपमा दुई जना दर्शक र तीन जना प्रहरी सामान्य घाइते भएका हुन् । प्रहरीले कार्यक्रम स्थलमा ढुंगामुडा गर्ने एक जनालाई पक्राउ गरेको छ । गत वर्ष माघ ४ गते मंगलबार बर्जु महोत्सव यादव सहभागी हुने कार्यक्रममा पनि झडप भएको थियो ।

यादवलाई स्थानीय प्रशासनले कार्यक्रमस्थलमा जान नदिएपछि आक्रोशित भिडले यादवको टिमले प्रयोग गर्ने भारतीय नम्बर प्लेटका चारवटा स्करपियो गाडी जलाएको थियो । स्टेज तोडफोड गरेको समूहले साउन्ड सिस्टम र कार्यक्रमस्थलमा प्रयोग गरिएको लाइट पनि तोडफोड गरेको थियो ।

यो पटकको महोत्सवमा पनि यादवलाई बोलाइएको थियो । यादव सहभागी हुने कार्यक्रमको टिकट शुल्कको विषयमा विवाद हुँदा सामान्य झडप भएको हो । सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले महोत्सवमा टिकटको विषयमा सामान्य विवाद भएको बताए ।

टिकटको विषयमा विवाद गर्न खोजेपछि एक जनालाई नियन्त्रणमा लिएको उनले बताए । भिडलाई नियन्त्रणमा लिने क्रममा तीन जना प्रहरी र कार्यक्रमस्थल पुगेका २ जना सामान्य घाइते भएको उनले बताए ।

यादव सहभागी कार्यक्रममा २५ हजार भन्दा बढी दर्शक पुगेका थिए । ‘कार्यक्रममा २५–२६ हजार दर्शक सहभागी थिए,’ ढकालले भने, ‘कार्यक्रम सकेर कलाकारलाई गन्तब्यमा पठाएर हामी फर्कियौं ।’ गत वर्ष पनि झडप भएका कारण कार्यक्रमको सुरक्षाका लागि यसपालि प्रहरीले सतर्कता अपनाएको थियो ।

सम्बन्धित खवर