आनाले अनमोलसँग अनस्क्रिन रोमान्स गर्ने ‘जेरी २’मा - Crazysaptahik.com

आनाले अनमोलसँग अनस्क्रिन रोमान्स गर्ने ‘जेरी २’मा

फिल्म ‘जेरी २’का प्रमुख कलाकारको समीकरण पूरा भएको छ । मंगलबार बेलुका आना शर्मा फिमेल लिडमा अनुबन्धित भएकी छन् । निर्माण कम्पनी र अभिनेत्री शर्माबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ ।

यसअघि अर्को लिड फिमेलमा पूर्णिका सिंजापति तय भएकी थिइन् । प्रमुख अभिनेतामा अनमोल केसी पनि फाइनल छन् । निर्माता सरोज न्यौपानेले आनालाई औपचारिक रुपमा दोस्रो श्रृंखलामा निरन्तरता दिइएको बताए ।

सन् २०१४ को फिल्म ‘जेरी’मा आना र अनमोलले अनस्क्रिन रोमान्स गरेका थिए । सो फिल्म आनाको डेब्यु फिल्म समेत थियो । दोस्रो श्रृंखलामा आना र पूर्णिकाको समानान्तर भूमिका हुनेछ । हेमराज बीसीले निर्देशन गर्ने फिल्मका अन्य कलाकार तय हुन बाँकी छन् ।

यसका लागि भारतको दार्जिलिङ, सिक्किम र गान्तोकमा कास्टिङ कल आह्वान गरिएको छ । एक महिनापछि छायांकन सुरु हुनेछ र लोकेसन पनि फाइनल छ । लुक्लादेखि सगरमाथा आधार शिविर, अष्ट्रेलिया र अमेरिकामा फिल्म छायांकन गर्ने तयारी छ ।

फिल्मलाई न्यौपाने र रामकृष्ण श्रेष्ठले मिलेर निर्माण गर्न लागेका हुन् । ‘जेरी’को पहिलो श्रृंखलाले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।

पहिलो फिल्मबाटै हिट भएपछि आनालाई पछाडि फर्केर हेर्नुपरेन । जेरी जोडीको रुपमा अनमोल र आनाको सम्बन्ध अफस्क्रिनमा समेत उत्तिकै चर्चित बनेको थियो ।

सम्बन्धित खवर