हिमालय लोकस्टारमा साइँलालाई पहिलो गोल्डेन स्टार अवार्ड, अन्तिम २० मा प्रवेश - Crazysaptahik.com

हिमालय लोकस्टारमा साइँलालाई पहिलो गोल्डेन स्टार अवार्ड, अन्तिम २० मा प्रवेश

लोकगायनमा आधारित टेलिभिजन रियालिटी शो हिमालय लोकस्टारको प्रसारण सुरु भएको छ । मंगलबार बेलुका प्रसारण भएको शोको पहिलो एपिसोड रोचक र मर्मस्पर्शी रह्यो । अडिसन राउण्डको पहिलो एपिसोडमै प्रतिस्पर्धी पीएन साइँलाले गोल्डेन स्टार अवार्ड जिते ।

यससँगै उनी अन्तिम २० मा प्रवेश गरेका छन् । सारंगीसहित स्टेजमा उत्रिएका साइँलाले मर्मस्पर्शी लोकगायन प्रस्तुत गरे । उनको यो गायकीमा तीनै जजको आँखा समेत रसाए ।

ज्योति मगरले त टाइटल ट्रफीको हकदार भएको बताउँदै साइँलालाई अंगालो हालिन् र गोल्डेन स्टार ट्रफी हस्तान्तरण गरिन् । ‘हिमालय लोकस्टारलाई चाहिने तपाईं नै हो । तपाईं टाइटल ट्रफीको हकदार हुनुहुन्छ,’ ज्योतिले भनिन् ।

ट्रफी जितेपछि खुसीका आँसु झार्दै साइँलाले यो उपाधिलाई सदुपयोग गर्ने बताए । एक वर्षअघि पत्नी बितेपछि साइँलाले काठमाडौंमा दुई बालबच्चालाई स्याहार्दै आएका छन् । ‘यो अवार्ड हेर्ने मान्छे आज छैन । यो उपाधिलाई सदुपयोग गर्नेछु,’ उनले भने ।

कार्यक्रम सञ्चालिका तथा पूर्वमिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ र जज मगरले पनि साइँलालाई जितको शुभकामना दिए । २०६० सालमा जनवादी कलाकार भएर प्रतिरोध र सामना सांस्कृतिक परिवारमा काम गरेका साइँला जनयुद्धमा समेत होमिएका थिए ।

उनले जनवादी संगीतदेखि अहिलेसम्मको यात्रालाई दर्शकमाझ प्रस्तुत गरे । अडिसन राउण्डको पहिलो एपिसोडमा एक दर्जन प्रतिस्पर्धीले अडिसन दिए । अडिसन राउण्डमा मात्र ८० जनाले प्रतिस्पर्धा गर्दैछन् ।

लोकस्टारलाई फिल्म निर्देशक समेत रहेका सिमोस सुनुवारले निर्देशन गर्दैछन् । यो रियालिटी शो हिमालय टेलिभिजनमा प्रत्येक मंगलबार र बुधबार राति ८ बजे प्रसारण हुने गर्छ ।

 

 

सम्बन्धित खवर