चीनले हटायो हलिउड स्टुडियो मार्भलका फिल्ममाथिको प्रतिबन्ध - Crazysaptahik.com

चीनले हटायो हलिउड स्टुडियो मार्भलका फिल्ममाथिको प्रतिबन्ध

विश्वकै ठूलो फिल्म बजार चीनले हलिउड स्टुडियो मार्भलका फिल्ममाथि लगाएको प्रतिबन्धलाई हटाएको छ । यस वर्षका दुई ठूला मार्भल सुपरहिरो फिल्महरु ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’ र ‘एन्ट म्यान एण्ड द वास्प : क्वान्टुमेनिया’को प्रदर्शन मिति घोषणा गर्दै चीनले प्रतिबन्ध हटाएको जनाएको छ ।

बाँकी विश्वमा गत वर्षकै नोेभम्बरमा रिलिज भएको ‘ब्ल्याक प्यान्थर २’ चीनमा भने अब फेब्रुअरी ७ मा रिलिज हुनेछ भने ‘एन्ट म्यान एण्ड द वास्प : क्वान्टुमेनिया’ फेब्रुअरी १७ मा प्रदर्शन हुने भेराइटी म्यागजिनले जनाएको छ ।

एन्ट म्यानको नयाँ श्रृंखला सोही दिनमा बेलायत र अमेरिकामा समेत एकसाथ प्रदर्शन हुँदैछ । मार्भल स्टुडियोको चिनियाँ सामाजिक सञ्जाल एकाउन्टमार्फत प्रदर्शन मितिहरु घोषणा भएका हुन् । यी दुई फिल्म सन् २०१९ मा रिलिज भएको ‘एभेन्जर्स एण्डगेम’ (६३२ मिलियन डलर) र स्पाइडर म्यान : फार फ्रम होम’ (१९८ मिलियन डलर) पछि प्रदर्शन हुन लागेका हुन् ।

विगतमा मार्भल फिल्म चीनमा धेरै लोकप्रिय भएका छन्, जसमा ‘ब्ल्याक प्यान्थर’ले १०५ मिलियन डलर र ‘एन्ट–म्यान एन्ड द वास्प’ले १२१ मिलियन डलर कमाएका थिए । मार्भल मात्र होइन डिज्नीलाई पनि चीनले कडाइ गरिरहेको छ ।

थोरै हलिउड फिल्मले कोभिड महामारीको समयमा चिनियाँ फिल्म हलमा पहुँच पाएका छन् । डिज्नीको पछिल्लो फिल्म ‘अवतार : द वे अफ वाटर’लाई चीनले हालै प्रदर्शन अनुमति दिएको थियो । यो फिल्मले अहिलेसम्म चीनमा २२ करोड डलर कमाएको छ ।

डिज्नी र अन्य ठूला स्टुडियोबाट नयाँ फिल्मलाई रिलिज गर्न किन चीनले अनुमति दिएन भन्ने कुरा पुष्टि हुनसकेको छैन । तर चिनियाँ कम्युनिष्ट पार्टीको १०० औं वर्षगाँठको अवसरमा सरकारले भूराजनीतिक तनाव आउन सक्ने कुरालाई ख्याल गर्दै हलिउड फिल्मलाई रोकेको हुन सक्ने अनुमान छ ।

सम्बन्धित खवर