आशान्त शर्माको निर्देशनमा नाटक ‘साथी, साथी आइदेऊ न’ कौसी थिएटरमा मञ्चन हुने - Crazysaptahik.com

आशान्त शर्माको निर्देशनमा नाटक ‘साथी, साथी आइदेऊ न’ कौसी थिएटरमा मञ्चन हुने

प्रविधिको यो युगमा युवापुस्ता परिवार, समाज र भीडबाट एक्लो बन्दैछन् । उनीहरुको सामाजिक क्षमतामा ह्रास आउँदैछ । दुःख, पीडा र खुसी बाँड्ने मान्छे पनि नहुँदा भित्रभित्रै एक्लोपनले विरक्तिएका पनि छन् ।

एक्लोपन बढ्दै जाँदा डिप्रेसन र आफैंलाई सिध्याउने प्रवृत्ति पनि देखिएको छ ।यो कथावस्तुमा रंगकर्मी आशान्त शर्माले नाटक ‘साथी, साथी आइदेऊ न’ ल्याएका छन् । पछिल्लो छिमलका युवापुस्तामा देखिएको एक्लोपन, मानसिक समस्या र आत्महत्याजस्ता कुरालाई लिएर शर्माले दर्शकमाझ नाटक मञ्चन थालेका हुन् ।

उनकै लेखन तथा निर्देशनमा यो नाटक पुस २८ गतेदेखि टुकेस्थित कौसी थिएटरमा मञ्चन भइरहेको छ । यो नाटकमार्फत रंगकर्मी शर्माले साथी भनेर युवाको समस्यालाई समाधान गर्ने उपाय पहिल्याएका छन् ।

उनी यो नाटकमा साथीकै भूमिकामा देखिएका छन् । नाटककी मुख्य पात्र अस्मिता जो परिवार, साथीभाइ र समाजले वास्ता नगर्दा विक्षिप्त बनेकी छ, उसको मनोदशामार्फत कथा भनिएको छ । उसको जीवनमा साथीको प्रवेश भएपछि आउने परिवर्तन नै यो नाटकको मुख्य कथावस्तु हो ।

आत्महत्याजस्तो संवेदनशील विषयलाई निर्देशक शर्माले क्लाउन अर्थात् जोकरको चरित्रमार्फत प्रस्तुत गरेका छन् । नाट्य विधामा शरीरको हाउभाउ र पहिरनबाट मनोरञ्जन गर्ने चलन छ ।

यो नाटक हेरेका दर्शकले पनि राम्रो प्रतिक्रिया दिएको शर्माले बताए । नाटकमा शर्मासहित प्रभाकर न्यौपाने, सरला पराजुली, दिव्या मगर, छिरिङ शेर्पा, प्रनिश मगर लगायतको अभिनय छ । यो नाटक माघ १५ गतेसम्म मञ्चन हुने जनाइएको छ ।

सम्बन्धित खवर