पाँच वर्षअघिको चर्चित फिल्म ‘हरि’ फेम्ड निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङको निर्देशकीय पुनरागमन पक्का भएको छ । यी दुईको निर्देशनमा कमेडी फिल्म ‘चलचित्र’ बन्ने भएको छ ।
शुक्रबार फिल्मका प्रमुख कलाकारमा विपिन कार्की र अर्पण थापा अनुबन्धित भएका छन् । निकुन श्रेष्ठ र सुशान्त श्रेष्ठले मिलेर निर्माण गर्ने फिल्मलाई मनराम ग्रुप र मन प्रोडक्सनको ब्यानरमा बनाउन लागिएको हो ।
सहनिर्माण कम्पनीमा रेजोनेटिङ पिक्चर्स रहेको छ ।नेपालमा फिल्म बनाउन फिल्ममेकरले गर्ने संघर्षको कथावस्तुमा बन्न लागेको फिल्मलाई निर्देशकद्वयले नै लेखेका हुन् । सन् २०१८ मा रिलिज भएको निर्देशकद्वयको अघिल्लो फिल्म ‘हरि’लाई समीक्षकले रुचाएका थिए ।
कथा भन्ने भिन्न शैलीको कारण यी दुई निर्देशक चर्चित पनि छन् । अहिले प्रि–प्रोडक्सनमा काम भइरहेको यो फिल्मलाई आगामी चैतदेखि छायांकनमा लैजाने तयारी रहेको निर्माता निकुनले जानकारी दिए ।
यो फिल्म गत नोभेम्बरमा भारतको धर्मशालामा आयोजित साउथ एसिया फिल्म ल्याबमा छनोट भइसकेको छ भने त्यहाँ फ्रान्सको ‘प्रोड्युर अउ सुड’को डेभलपमेन्ट वर्कसपमा पनि सहभागी भएको थियो ।
फिल्मले विपिन र अर्पणबाहेकका अन्य ८० पात्रको लागि अडिसन आयोजना गर्दैछ । सन् २०१९ मा स्थापना भएको मन प्रोडक्सनले अडियो भिजुअल माध्यममार्फत मानिसलाई मनोरञ्जन गर्न मात्र नभई उनीहरूलाई ज्ञान साझा गर्न र उनीहरूलाई शिक्षित गर्ने उद्देश्यका साथ स्थापना गरिएको जनाइएको छ ।
अन्तर्राष्ट्रिय फेस्टिभलभन्दा घरेलु फिल्मका दर्शकलाई लक्षित गरी गुणस्तरीय फिल्म बनाउने आफूहरुको उद्देश्य रहेको निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसले विश्व फिल्म बजारमा आफ्नै स्थान बनाउने समेत उल्लेख छ ।