पेटको आन्द्रा र मिर्गौलामा समस्या देखिएपछि अस्पतालमा उपचाररत वरिष्ठ फिल्म प्राविधिक मोहन महर्जनलाई नेपाल चलचित्र प्राविधिक संघले आर्थिक सहयोग प्रदान गरेको छ । अध्यक्ष पुष्कर लामाले शुक्रबार वीर अस्पताल पुगेर ३५ हजार रुपैयाँ सहयोग प्रदान गरे ।
संस्थाअन्तर्गतको विपत व्यवस्थापन कोषबाट उक्त सहयोग प्रदान गरिएको हो । लामो समयदेखि नेपाली फिल्ममा प्रकाश व्यवस्थापक तथा छायांकार समेत रहेका महर्जन चार दिनदेखि अस्पतालमा उपचार गराइरहेका छन् ।
२०४८ सालमा फिल्म ‘भाग्यरेखा’बाट काम सुरु गरेका महर्जनले सयौं फिल्ममा प्राविधिकको रुपमा योगदान दिएका छन् । पछिल्लो समय परिवारसहित कुपण्डोलस्थित टहरमा बस्दै आएका उनले दुःख परेको बेला अध्यक्ष लामाले सम्झिएको भन्दै खुशि व्यक्त गरे ।
चलचित्र प्राविधिक संघले आर्थिक अभावमा हातमुख जोर्न र उपचार गर्न कठिनाइ भोगेका प्राविधिकलाई आर्थिक सहयोग गर्दै आएको छ । अध्यक्ष लामाले श्रमजीवि प्राविधिकलाई आपत परेको बेला सघाउन प्राविधिक संघ जतिबेला सुकै तयार रहेको बताए ।