बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ रिलिज हुन केही दिन मात्रै बाँकी छ । पठानको अग्रिम बुकिङ सुरु भइसकेको छ । चलचित्र समीक्षक तथा व्यापार विश्लेषक तरण आदर्शले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै अग्रिम बुकिङमा १ लाख १७ हजार टिकट बिक्री भइसकेको खुलासा गरेका छन् ।
तरण आदर्शले पठानलाई बक्स अफिसमा ‘सुनामी लोडिङ’ भएको बताउँदै पीभीआरले पठानका लागि ५१ हजार टिकट बिक्री गरेको र आइनक्सले ३८ हजार ५०० टिकट बिक्री गरेको बताए ।
योसँगै सिनेपोलिसमा २७ हजार ५०० टिकट बिक्री भइसकेको छ । तरणका अनुसार यो आँकडा बिहीबार (माघ १९) राति ११ बजेसम्मको हो र माघ २० गतेदेखि यसको अग्रिम बुकिङ अझै बढ्ने छ ।
‘पठान’ हिन्दीका साथै तमिल र तेलुगु भाषामा २५ जनवरीमा रिलिज हुँदैछ । फिल्म हिन्दीमा करिब ४५०० स्क्रिनमा रिलिज हुनेछ भने तमिल र तेलुगु स्क्रिनसहित करिब ५००० स्क्रिनमा रिलिज हुनेछ ।
शाहरुख खान चार वर्षपछि पठानसँग सिल्वर स्क्रिनमा मुख्य भूमिकामा फर्कदैछन् । उनी पछिल्लो पटक २०१८ को फिल्म ‘जिरो’ मा देखिएका थिए । यो फिल्म बक्स अफिसमा फ्लप साबित भयो ।
यी चार वर्षमा उनले ’ब्रह्मास्त्र’, ’लाल सिंह चड्ढा’ र ’रकेटरी’ जस्ता फिल्महरूमा क्यामियो गरे। लिडको रूपमा, उनी पठानबाट कमब्याक गर्न लागेका छन्। फिल्मको बजेट करिब २५० करोड रहेको छ । फिल्मको मिडिया अधिकार करिब १०० करोडमा बिक्री भएको छ ।