विश्वभरबाट कमायो २ बिलियन डलर, बन्यो धेरै कमाउने छैटौं फिल्म ‘अवतार २’ले - Crazysaptahik.com

विश्वभरबाट कमायो २ बिलियन डलर, बन्यो धेरै कमाउने छैटौं फिल्म ‘अवतार २’ले

प्रदर्शनको ६ सातामै जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले विश्व बक्स अफिसमा दुई बिलियन डलरको आँकडा पार गरेको छ । यो कमाइसँगै ‘अवतार २’ विश्व फिल्मको इतिहासमा सर्वाधिक कमाउने छैटौं र कोरोना महामारीपछि यो उपलब्धि हासिल गर्ने पहिलो फिल्म बनेको छ ।

सन् २००९ मा रिलिज भएको ‘अवतार’को पहिलो श्रृंखलाको धेरै कीर्तिमानलाई अहिलेसम्म कसैले उछिन्न सकेको छैन । अवतार, एभेन्जर्स : एण्डगेम, टाइटानिक, स्टारवार्स : द फोर्स अवेकन्स र एभेन्जर्स : इन्फिनिटी वार सर्वाधिक कमाउने पाँच फिल्म हुन् ।

दुई बिलियन डलर क्लबमा प्रवेश गर्नेमा निर्देशक क्यामरुनका मात्रै तीन फिल्म छन् । ‘अवतार’ श्रृंखलामा नेटिरी चरित्रमा अभिनय गरेकी जोय साल्दानाका मात्र चार फिल्म दुई बिलियन डलर क्लबमा प्रवेश गरेका छन् ।

रिलिजअघि नै निर्देशक क्यामरुनले लगानी उठाउन पनि फिल्मले दुई बिलियन डलर कमाउनैपर्ने बताएका थिए । तर विश्लेषकहरुका अनुसार १.५ बिलियन डलर कमाइबाट फिल्मले लगानी उठाइसकेको छ ।

आगामी दिनमा अवतार २ ले चौथो र पाँचौ स्थानमा रहेका दुई ठूला फिल्महरु ‘स्टार वार्स ः द फोर्स अवेकन्स (२.०७ बिलियन डलर) र एभेन्जर्स : इन्फिनिटी वार (२.०४ बिलियन डलर)को कमाइलाई उछिन्ने प्रक्षेपण गरिएको छ ।

१३ वर्षअघि रिलिज भएको ‘अवतार’ले २.९० बिलियन डलर कमाएको छ । दोस्रो स्थानमा रहेको एभेन्जर्स :एण्डगेमले २.७९ बिलियन डलर र टाइटानिकले २.१९ बिलियन डलर कमाएका थिए ।

पुस १ गते रिलिज भएको अवतार २ ले नेपाली बक्स अफिसमा पाँच सातासम्म साढे ९ करोड रुपैयाँ ग्रस कमाएको छ । यो कमाइसँगै अवतार २ नेपाली बक्स अफिसमा सर्वाधिक कमाउने हलिउड फिल्म समेत बनेको छ ।

सम्बन्धित खवर