क्यूएफएक्सले ‘छक्कापञ्जा ४’सँगै ‘छड्के २’ पनि प्रदर्शन गर्ने - Crazysaptahik.com

क्यूएफएक्सले ‘छक्कापञ्जा ४’सँगै ‘छड्के २’ पनि प्रदर्शन गर्ने

सातामा एउटा मात्र ‘ठूलो’ फिल्म रिलिज गर्ने पूर्वतयारीबाट मल्टिप्लेक्स चेन ‘क्यूएफएक्स’ पछि हटेको छ । नेपाली फिल्म बजारमा ४० प्रतिशत हिस्सा ओगट्ने यो हलले फागुन १९ गते अनमोल केसी स्टारर फिल्म ‘छड्के २’लाई रिलिज गर्ने निर्णय गरेको छ ।

उक्त मितिमा क्यूएफएक्समा ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ एकसाथ रिलिज हुनेछन् । हलको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार प्रदर्शनको तयारीमा रहेको फिल्मको सूचीमा ‘छक्कापञ्जा’को चौथो श्रृंखलासँगै ‘छड्के २’ पनि सूचीकृत भएको छ ।

हलले सामाजिक सञ्जालका ह्यान्डलबाट समेत निगम श्रेष्ठ निर्देशित फिल्म प्रदर्शन हुने जानकारीसहितको पोस्ट गरिरहेको छ । गत पुस १४ गते  क्यूएफएक्स सञ्चालकमध्येका एक भाष्कर ढुंगानाले एउटै मितिमा दुई ठूला फिल्म रिलिज नगर्ने बताएका थिए ।

आफूहरुसँग समन्वय गरेर प्रदर्शन मिति तय गर्न उनले वितरक तथा निर्मातालाई आग्रह गरेका थिए । नीतिगत रुपमा यस्तो निर्णय गरिएको र कुनै एक फिल्मलाई यो निर्णय लक्षित नहुने उनले बताएका थिए ।

फागुन १९ गतेको मिति ‘छक्कापञ्जा ४’लाई दिइसकेको समेत उनले जनाएका थिए । क्यूएफएक्सको यो तयारीको खबर बाहिरिएपछि निर्माता र वितरक क्रुद्ध बनेका थिए ।

क्यूएफएक्सबाहेकका अन्य हलले चाहिं उक्त मितिमा दुइटै फिल्म रिलिज गर्ने निधो गरेका थिए । क्यूएफएक्सले यस्तो निर्णय गरेपछि उक्त मितिमा दुई प्रतीक्षित फिल्म एकसाथ रिलिज हुने निश्चित भएको छ ।

दुई ठूला फिल्म आउँदा हुनेछ यी असर

अब फागुन १९ गते ‘छडके २’ र ‘छक्कापञ्जा ४’ एकसाथ रिलिज हुने भएपछि दुवै फिल्मलाई यसको असर स्पष्ट देखिनेछ । कुन हलले कति शो विभाजन गर्नेछन् भन्ने कुरा अहिले नै पुष्टि नहुने भए पनि दुवैले राम्रै संख्यामा शो पाउने अनुमान गरिएको छ ।

पर्याप्त शो उपलब्ध नहुने र धेरै शो होल्ड हुने भएपछि दुवै फिल्मको ओपनिङ अपेक्षाअनुसार हुनेछैन । दर्शक र रेभेन्यु बाँडिंदा यसले फिल्मको कमाइ प्रभावित हुनेछ । ‘छड्के २’को आशा ओपनिङमा टिकेको छ भने ‘छक्कापञ्जा ४’लाई कीर्तिमानी कमाइ गर्न पहिलो साता निकै संवेदनशील र अर्थपूर्ण हुनेछ ।

दुवै फिल्मका आ–आफ्ना बाध्यता छन्, जसले एकअर्कालाई सहज भने हुनेछैन । अर्कोतर्फ, फागुन १९ गते शर्मिला पाण्डेले निर्माण गरेको फिल्म ‘परस्त्री’ पनि आउने तयारीमा छ । भलै, यसको औपचारिक घोषणा भएको त छैन तर निर्मात्री पाण्डेले सोही मितिमा फिल्म ल्याउने जनाएकी छन् ।

‘परस्त्री’ निर्माताले नेपाल र भारतमा एकसाथ रिलिजको तयारी गरिरहेका छन् जसले पनि ल्याउनैपर्ने दबाब यो मितिमा छ ।

सम्बन्धित खवर