लुनिभा तुलाधरको निर्देशनमा वेबसिरिज ‘बिकमिङ’ सार्वजनिक - Crazysaptahik.com

लुनिभा तुलाधरको निर्देशनमा वेबसिरिज ‘बिकमिङ’ सार्वजनिक

लैंगिक अल्पसंख्यक समुदायका युवाको कथा र उनीहरुको सामाजिक स्वीकार्यताको खोजीमा आधारित वेब श्रृंखला ‘बिकमिङ’ सार्वजनिक भएको छ । नीलहीरा समाज र सेभ द चिल्ड्रेनले निर्माण गरेको यो सिरिजलाई ‘कबड्डी’ फेम्ड अभिनेत्री लुनिभा तुलाधरले निर्देशन गरेकी हुन् ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सोमबार आयोजित समारोहमा यो सामाजिक कथावस्तुको श्रृंखला सार्वजनिक गरिएको हो । रंगमञ्च र फिल्मकी प्रसिद्ध अभिनेत्री समेत रहेकी तुलाधरले समलिंगी समुदायको युवाको कथामार्फत उनीहरुले पहिचानका लागि गर्ने संघर्ष र सामना गर्नुपरेको चुनौतीलाई प्रस्तुत गरिएको बताइन् ।

सेभ द चिल्ड्रेनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको श्रृंखलामा निर्देशक तुलाधरसहित अमृत दाहाल, अदिती शेर्पा, निर्भिक भट्टराई, युनिश गुरुङलगायतको अभिनय छ । यो सिरिजमा ६० प्रतिशत कलाकार एलजीबीटीआई समुदायबाट रहेको तुलाधरले जानकारी दिइन् ।

यो सिरिजले लैंगिक अल्पसंख्यक समुदायबारे रोचक तरिकाले जानकारी प्रदान गर्दै यसप्रतिको दृष्टिकोण बदल्ने उद्देश्य राखेको जारी विज्ञप्तिमा उल्लेख छ ।

सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले भनिन्, ‘यो वेब शृंखलाले समाज तथा सञ्चारमाध्यममा वर्षौदेखि रहिआएको एलजीबीटीक्यूआई समुदायको संकीर्ण चित्रणविरुद्ध उनीहरुलाई समाजका रोल मोडलको रुपमा अघि ल्याउँछ ।’

प्रकृति र उनका साथीहरूको यो कथाले उनीहरूले आफ्नो यौनिकतालाई अँगाल्न सामना गर्नुपर्ने चुनौती, पारिवारिक तथा सामाजिक स्वीकृतिको खोजी सम्बन्धी पाटो समेटेको समेत जनाइएको छ ।

सम्बन्धित खवर