अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म कलाकारले भन्दा कन्टेन्टले चल्ने बताएकी छन् । हलमा दर्शक कलाकारभन्दा फिल्मको कन्टेन्ट हेर्न आउने उनको धारणा रहेको थियो ।
पछिल्लो समय महँगा कलाकारले फिल्म हलमा दर्शक तान्न नसकेको भन्दै सामाजिक सञ्जालमा बिभिन्न टिका टिप्पणी हुन थालेपछि अभिनेत्री शाहले घुमाउरो ढंगले फिल्म नचल्नुमा निर्माता र निर्देशक जिम्मेवार हुनुपर्ने बताएकी हुन् ।
आइतबार फिल्म ‘ह्यारीकी प्यारी’ ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा शाहले महंगा अभिनेता अभिनेत्री राखेर फिल्म हिट नहुने समेत बताइन् । उनले फिल्म ‘ह्यारीकी प्यारी’ कलाकारले भन्दा पनि कन्टेन्टले राम्रो फिल्म भएको दाबी गरिन् ।
‘मेरो मनपर्ने जनरा कमेडी हो र पहिलो पटक यो जनरामा ‘ह्यारीकी प्यारी’ काम गर्न पाए’, उनले भनिन्, ‘अबको मेरो फिल्मको प्राथमिकता र छनोट पनि कमेडी र यस्तै कथावस्तु हुनेछ ।’
‘ह्यारीकी प्यारी’ मार्फत पहिलो पटक गाउँले परिवेश र कथावस्तुमा बनेको फिल्ममा अभिनय गर्न आफुले पाएको भन्दै उनले खुसी व्यक्त गरिन् । भनिन्– ‘बच्चैदेखि रोमकम र कमेडी हेरेर हुर्किएकी हुँ म ।’
कार्यक्रममा फिल्म अभिनय अनुभव समेत सुनाएकी उनले फिल्म सबै बर्गका दर्शकले रुचाउने बताइन् । ‘ह्यारीकी प्यारी’ डा.कपिल रिजालको निर्माण निर्देशन रहेको फिल्म हो ।
फिल्ममा साम्राज्ञीका जोडीको रुपमा अभिनेता जीतु नेपाल देखिएका छन् । कमेडी जनरामा निर्माण भएको र ५ भाषामा बनेको फिल्म माघ २० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।