दुबई कन्सर्टले पपस्टार बियोन्से विवादमा, दुःखी बनाएको भन्दै समलिंगी समुदाय निराश - Crazysaptahik.com

दुबई कन्सर्टले पपस्टार बियोन्से विवादमा, दुःखी बनाएको भन्दै समलिंगी समुदाय निराश

पपस्टार बियोन्से पाँच वर्षपछि लाइभ कन्सर्टका लागि स्टेजमा फर्किएकी छन् । तर उनको पुनरागमनलाई लिएर सबै फ्यान उत्साहित छैनन् । दुबईको लक्जरी होटल एटलान्टिस द रोयलको उद्घाटनमा निजी कन्सर्ट दिएपछि यी पपस्टार मिडिया हेडलाइन बनिरहेकी छन् ।

१५ सय जना दर्शक सहभागी उक्त कन्सर्र्टमा मोबाइल फोन लैजान रोक लगाइएको थियो । कन्सर्टका भिडियो यतिबेला इन्टरनेटमा भाइरल बनिरहेका छन् । विश्व पपसंगीतमा क्वीन उपनामले चर्चित बियोन्से स्टेजमा फर्किएपछि धेरै फ्यान खुसी थिए ।

तर कतिपय चाहिं दुबईको समलिंगी सम्बन्धबारे रहेका कडा कानुनलाई लिएर दुःखी देखिए ।उनको पछिल्लो ‘रेनसान्स’ अश्वेत समलिंगीको सम्मानप्रति समर्पित छ । उक्त गीतले ‘गे’ समुदायका एक व्यक्तिको नृत्यलाई चित्रण गर्छ ।

स्वतन्त्र संगीत पत्रकार अबिगेल फर्थले बीबीसीसँग बताएअनुसार बियोन्सेका पछिल्ला कार्य समलिंगी संस्कृतिका ऋणी छन् । यसकारण किन उनका कतिपय फ्यान दुबई कन्सर्टलाई लिएर दुःखी छन् भन्ने चित्रण गर्छ ।

बियोन्सेले दुबई कन्सर्टका लागि २४ मिलियन डलर पारिश्रमिक लिएको बताइएको छ । ‘उनी साँच्चै गलत विकल्प जस्तो देखिन्छ,’ अबिगेल भन्छिन्, ‘उनी स्पष्ट रूपमा एक करोडपति हुन्, उनलाई वास्तवमै यो गर्न आवश्यक थिएन, उनलाई वास्तवमै पैसाको आवश्यकता थिएन ।’

संयुक्त अरब इमिरेट्स (यूएई)मा समलैंगिकता विरुद्ध कडा नियमहरु छन् । सन् २०२२ को विश्वकप फुटबल आयोजना गरेको नजिकैको मुलुक कतारमा समेत केही यस्ता नियम छन् ।

कतारलाई पनि समलिंगी मानिसप्रतिको दृष्टिकोण, मानवअधिकार रेकर्ड र आप्रवासी कामदारप्रतिको व्यवहारको लागि आलोचना भएको थियो । बेलायती पूर्व फुटबल खेलाडी डेभिड बेकह्यामले पनि प्रसिद्ध हास्य कलाकार जो लिसेटसँग कतारमा विज्ञापन गर्न ठूलो रकममा सम्झौता गरेपछि आलोचित भएका थिए ।

अहिलेसम्म बियोन्सेप्रतिको आलोचना त्यति उग्र भएको छैन । एबिगेल भन्छिन्, ‘मानिसले बियोन्सेलाई कुनै पनि प्रकारको प्रतिक्रिया दिन अलिकति हिच्किचाउँछन् किनभने उनलाई समलिंगी समुदायले प्रशंसा गर्छन् ।

बेलायतको बर्मिङ्घममा समलिंगी बारहरूको चेन चलाउने लरेन्स बार्टन भन्छिन्, ‘बियोन्सेले दुबईमा प्रदर्शन गरेको देखेर म निराश भएँ ।’

सम्बन्धित खवर