‘फूलबारी’ ट्रेलर : माया र आक्रोशबीच घुमेको एउटा परिवारको कथा - Crazysaptahik.com

‘फूलबारी’ ट्रेलर : माया र आक्रोशबीच घुमेको एउटा परिवारको कथा

‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ । विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ लगायतको भूमिका रहेको फिल्मको ट्रेलर पारिवारिक सम्बन्धको कथावस्तुमा आधारित छ ।

ट्रेलरमा विपिन र अरुणाले दम्पतीको भूमिका निर्वाह गरेका छन् । एउटा सुखी र रमाइलो घर कसरी असमझारीले उजाडिन्छ र दाम्पत्य जीवनमा प्रेम कति महत्वपूर्ण छ भन्ने सन्देश यसले दिन्छ ।

छोराबुहारीले वृद्ध बाबुआमालाई गर्ने अपहेलनाको मर्मस्पर्शी दुःखान्त यसमा छ । समग्रमा पुस्तान्तरले एउटा मध्यमवर्गीय नेपाली परिवारमा ल्याउने संकटको कथा हो फूलबारी । विपिन र अरुणाले झण्डै ६० वर्ष टेक्न लागेका अनस्क्रिन दम्पतीको भूमिकामा देखिएका छन् ।

उपेन्द्र सुब्बाको लेखन तथा कमलकिशोर मलपानीको अवधारणा तथा कथा रहेको यो फिल्मलाई फेमिली ड्रामा जनरामा राखिएको छ । दुःख, हाँसो र द्वन्द्वको तत्व समावेश फिल्मको ट्रेलरमा पूर्वी नेपालको आञ्चलिकता पनि प्रस्तुत गरिएको छ ।

अमेरिकी छायांकार जोस हेरमको छायांकन प्रशंसनीय देखिन्छ । फिल्ममा सोमनाथ खनाल, अनुपम शर्माको पनि महत्वपूर्ण भूमिका छ ।

फागुन ५ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई यशोधा फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । कबड्डी ४ ब्लकबस्टर भएपछि निर्देशक गुरुङले होम प्रोडक्सनभन्दा बाहिर यो फिल्म गरेका हुन् ।

सम्बन्धित खवर