ओलीलाई भेट्न बालकोट पुगे वसुन्धरा भुसाल र चैत्यदेवी - Crazysaptahik.com

ओलीलाई भेट्न बालकोट पुगे वसुन्धरा भुसाल र चैत्यदेवी

अभिनेत्रीहरु चैत्यदेवी र वसुन्धरा भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । विवादास्पद सिभिल सहकारीमा फसेको निक्षेप फिर्ता ल्याउन मद्दत माग्दै अभिनेत्रीद्वयसहित २५ जना पीडित ओली निवास बालकोट पुगेका थिए ।

उक्त सहकारीका सञ्चालक इच्छाराज तामाङ एमालेका पूर्वसांसद समेत भएकाले यो समस्यामा अध्यक्ष ओलीले मद्दत गर्न सक्ने आशा लिएर आफूहरु बालकोट पुगेको अभिनेत्री भुसालले  बताइन् ।

उक्त सहकारीमा भुवन चैत्य वसुन्धरा फाउण्डेसनका १५ लाख रुपैयाँसहित २५ जनाको दुई करोड ६० लाख रुपैयाँ फसेको भुसालले जानकारी दिइन् । प्रथम नेपाली फिल्म नायिका भुवन चन्दसहित चैत्यदेवी र वसुन्धरा भुसालको नाममा उक्त फाउण्डेसन खुलेको थियो ।

यसअघि पनि वसुन्धरासहितका अभिनेत्री यो समस्यालाई लिएर विभिन्न ठाउँमा पुगेका थिए ।ओलीले यो समस्या सरकारले समाधान गर्नुपर्ने बताउँदै समस्या समाधानमा आफूले पहल गर्ने आश्वासन दिएका थिए ।

उक्त सहकारीले बचतकर्तालाई ७ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ । तामाङसहित १३ जनालाई प्रहरीले २०७८ सालको असोज १८ गते पक्राउ परेको थियो ।

तामाङकी श्रीमती सिर्जना शाक्य पनि साउन ३ गते पक्राउ परेकी थिइन् । त्यतिबेला सहकारीबाट ठगिएको भन्दै १ हजार ५३० जना बचतकर्ताले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

सम्बन्धित खवर