अनमोल केसी स्टारर ग्याङस्टर ड्रामा फिल्म ‘छड्के २.०’को आधिकारिक टिजर सार्वजनिक भएको छ । एक मिनेट ४५ सेकेण्ड लामो टिजर एक्सनप्रधान लाग्छ । फिल्मको केन्द्रीय कथावस्तु र द्वन्द्वलाई टिजरले राम्रोसँग स्थापित गर्न सकेको छ ।
टिजरले पात्र चित्रण पनि खुलाएको छ । समग्रमा यो रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको लडाइँको कथा हो । ‘हाम्रो बारीको स्याउ हामीले पनि बेच्न पाउनुपर्छ । हाम्रो डाँडाको यार्सा हामीले पनि टिप्न पाउनुपर्छ,’ भन्ने एक पात्रको अभिव्यक्तिले समग्र फिल्मको कथावस्तुलाई दर्शाएको छ ।
ग्याङस्टर मनोविज्ञान सिर्जना गर्ने टिजरको ब्याकग्राउड स्कोर र रङ संयोजन पनि आकर्षक लाग्छ । हिमालपारिको जिल्ला मनाङमा छायांकन गरिएको फिल्मको टिजरले त्यहाँको प्राकृतिक स्रोत हत्याउन संघर्ष गर्ने तीन ग्याङको कथा भन्छ ।
मेनडग चरित्रमा देखिएका अनमोलले फिल्ममा ग्रीन ग्याङको प्रतिनिधित्व गरेका छन् ।रविन तामाङ साम्तेन, निगम श्रेष्ठ खजुरे, रेशा आले मगर यांकीको चरित्रमा देखिएका छन् ।
निर्देशक समेत रहेका श्रेष्ठ पनि फिल्मको प्रमुख चरित्रमा देखिएका छन् । दश वर्षअघिको फिल्म ‘छड्के’को सिक्वेलको रुपमा यो निर्माण भए पनि कथावस्तु चाहिं भिन्न देखिन्छ । निगमको पछिल्लो फिल्म ‘लालपूर्जा’ सन् २०१८ मा रिलिज भएको थियो ।
‘छड्के २.०’ आगामी फागुन १९ गते रिलिज हुँदैछ । प्रशान्त गिरी र देवकुमार श्रेष्ठले फिल्म निर्माण गरेका हुन् । निर्वाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा फिल्म बनेको हो ।
कार्यकारी निर्मातामा निर्वाना फिल्मसहित लक्ष्मण काफ्ले पनि छन् । रिलिज मितिलाई भ्यागुता कराउने दिन भनेर टिजरमा उल्लेख गरिएको छ ।