कन्सर्टका घाइतेलाई भेट्न अस्पताल जाँदै प्रमोद खरेल, भन्छन्– नमज्जा लागिरहेको छ - Crazysaptahik.com

कन्सर्टका घाइतेलाई भेट्न अस्पताल जाँदै प्रमोद खरेल, भन्छन्– नमज्जा लागिरहेको छ

गायक प्रमोद खरेलको कन्सर्टमा अनियन्त्रित भीडमा च्यापिएर घाइते हुनेको संख्या ३० पुगेको छ । प्रहरीले सार्वजनिक गरेको नामावलीअनुसार घाइते हुनेमा धनकुटाका स्थानीय छन् ।

यीमध्ये १६ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र २ जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । अन्य १२ जना भने धनकुटा अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

गायक खरेलले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उपचाररत् घाइतेलाई भेट्न उनी सोमबार बिहान अस्पताल जाने भएका छन् ।  गायक खरेलले भने, ‘मलाई हेर्न भनेर माया गरेर आउनुहुने श्रोता–दर्शकलाई त्यस्तो परेर कार्यक्रम स्थगित हुँदाखेरि कलाकारलाई भावनात्मक रुपमा नमज्जा र दुःखद लाग्छ ।

प्राविधिक कुरा भोलि छानबिन होला तर फ्यानको नाताले मेरो कार्यक्रम हेर्न आउँदा भएको घटना हुँदा अत्यन्तै दुःखी छु ।’ अस्पताल पुगेर फ्यान र शुभचिन्तकलाई स्वास्थ्यलाभको कामना गर्ने प्रमोदले बताए ।

शनिबार राति ८ बजेतिर धनकुटा नगरपालिका–६ स्थित तल्लो टुँडिखेलमा कन्सर्ट आयोजना गरिएको थियो । माघ ६ गतेदेखि आयोजित एभोकाडो एवं पाँचौं धनकुटा महोत्सवमा प्रमोदले सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय गरिएको थियो ।

त्यस क्रममा भीडभाड भई गेटबाट भित्र प्रवेश गर्ने क्रममा एकापसमा ठेलमठेल हुँदा मानिस च्यापिएका थिए ।

सम्बन्धित खवर