बलिउड निर्माता नितेश तिवारी केही दिनयता रामायण आधारित पौराणिक फिल्म बनाउने तयारीमा छन् । स्क्रिप्ट तयार भइसकेको छ, जसमा रावणको भूमिकाका लागि ऋतिक रोशनलाई प्रस्ताव गरिएको छ ।
तर पछिल्लो खबरअनुसार यसमा ऋतिक नभई ‘केजीएफ’ स्टार यशले रावणको भूमिका निर्वाह गर्नेछन् । पिंकभिल्लाको हालैको खबरअनुसार ऋतिकले रामायणमा बन्ने फिल्मको प्रस्तावलाई अस्वीकार गरेका छन् ।
उनी अब नकारात्मक भूमिकामा खेल्न चाहँदैनन् । यसअघि रिलिज भएको फिल्म ‘विक्रम वेधा’मा पनि ऋतिकले नकारात्मक भूमिका खेलेका थिए र उनी अब यस्तो भूमिकामा काम गर्न चाहँदैनन् ।
ऋतिकले प्रस्ताव अस्वीकार गरेपछि तिवारी र निर्माता मधु मन्टेनाले अब ‘केजीएफ’ स्टार यशलाई रावणको भूमिकाको लागि प्रस्ताव गरेका छन् । निर्माताले फिल्मको स्क्रिप्ट पनि यशलाई हस्तान्तरण गरिसकेका छन् ।
रिपोर्टअनुसार यशले स्क्रिप्ट रिडिङ सुरु गरिसकेका छन् । उनीसँग ४–५ फिल्मको स्क्रिप्ट छ । त्यसैले रामायणको रावण अब यश बन्न सक्ने सम्भावना छ । ऋतिकसँगै रणवीर कपुरलाई पनि फिल्मको अफर आएको छ ।
भगवान श्रीरामको भूमिकाका लागि रणवीरलाई प्रस्ताव गरिएको छ । हाल उनको तर्फबाट यसबारे कुनै पुष्टि भएको छैन । तिवारी र मधुले सन् २०१९ मा रामायणमाथि फिल्म बन्ने औपचारिक घोषणा गरेका थिए ।
कास्टिङ फाइनल भएपछि छायांकन यसै वर्षको जेठ महिनामा सुरु हुने भएको छ । अहिले निर्देशक तिवारी फिल्म ‘बवल’को सुटिङमा व्यस्त छन्, जसमा वरुण धवन र जान्हवी कपुर मुख्य भूमिकामा छन् ।