निफमा ‘बुलबुल’को डबल ह्याट्रिक - Crazysaptahik.com

निफमा ‘बुलबुल’को डबल ह्याट्रिक

क्रेजी साप्ताहिक । ‘नेपाल अन्तरराष्ट्रिय फिल्म फेस्टिभल निफ’मा चलचित्र ‘बुलबुल’ले डबल ह्याट्रिक गरेको छ । नेपाल पनोरमाको फिचरतर्फ ‘बुलबुल’ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उकृष्ट अभिनेत्री, जुरी च्वाइस अवार्ड अभिनेता र जुरी च्वाइस महिला गरी ६ वटा अवार्ड जितेको हो ।

विनोद पौडेल निर्दे्शित यो चलचित्रमा विनोदले उत्कृष्ट निर्देशक र पटकथाको अवार्ड थाप्दै गर्दा स्वस्तिमा उत्कृष्ट अभिनेत्री घोषित थिइन् । यसै चलचित्रबाट मुकुन भुषाल र लक्ष्मी बर्देवालाई जुरीले उत्कृष्ट अवार्ड प्रदान गरेका थिए । यस्तै, निफमा चलचित्र ‘गोपी’ले पनि ह्याट्रिक गरेको छ । उत्कृष्ट चलचित्र जुरीतर्फ ‘गोपी’ छनोट भएको थियो ।

‘गोपी’बाटै विपिन कार्की उत्कृष्ट अभिनेता ठहरिए । गोपी खिच्ने शैलेन्द्र डी कार्कीले उत्कृष्ट छायांकारको अवार्ड जिते ।कार्यक्रममा नेपाली सर्ट चलचित्रतर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्दे्शित ‘जुनुको जुत्ता’ले पाएको थियो भने इन्टरनेसनल सर्ट चलचित्रतर्फको जुरी मेन्सन अवार्ड युक्रेनको ‘अन्ना’ले पाएको थियो ।

नेपाली सर्ट चलचित्रतर्फ प्रविण कुमार राउत निर्दे्शित ‘कलम’ उत्कृष्ट भयो भने यसै चलचित्रबाट प्रविण उत्कृष्ट निर्देशक बने । सर्ट चलचित्रतर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दिअदर हाफ’ले पाएको थियो । अन्तरराष्ट्रिय सर्ट फिल्मको विधातर्फ भारतिय चलचित्र ‘नुरी’ उत्कृष्ट भएको छ । चलचित्रमा भारत पाकिस्तान बोर्डरमा चेपिएकी एक युवतीको कथा पेश गरिएको थियो । बाग्मती अवार्ड नाम दिइएको यो पुरस्कारको राशी ५ सय अमेरिकी डलर छ ।

बहुपतिप्रथाको कथा समेटिएको गणेश पाण्डे निर्दे्शित ‘को हस्बेन्ड’ डकुमेन्ट्री विधातर्फ उत्कृष्ट ठहरिएको थियो । माउन्ट एभरेस्ट अवार्ड नाम दिएको यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेको थियो । यही वर्षबाट थपिएको एनिमेटेड विधाको अवार्ड भने चीनको ’स्प्रिट अफ दि ड्रइङ गर्ल’ले पायो ।

मञ्जुश्री अवार्ड नाम दिएको यो पुरस्कारको राशि ७ सय अमेरिकी डलर रहेको छ । समारोहको सबैभन्दा ठुलो पुरस्कार गौतम बुद्ध अवार्ड टर्कीको ‘ट्रयाप’ले पायो । जितसँगै फिल्मले १५ सय अमेरिकी डलर हात पार्यो । फिचर चलचित्रतर्फ प्रकाश झा मुख्य जुरी थिए ।

जुरीमा मन्जुकुमार श्रेष्ठ, गौरी मल्ल, जाओ पाउलो मकाइदो र थिबाउट ब्राकले गरेका थिए । श्रीलंकाका डकुमेन्ट्री मेकर अनोमा राजाकरुणाले नेतृत्व गरेको डकुमेन्ट्री विधातर्फको जुरी सदस्यमा करुण थापा, युनी हाडी सदस्य थिए । राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा ५ दिनसम्म चलेको यस फेस्टिभललाई नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गरेको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.