म्यूजिक भिडियो छायांकनका लागि धरान पुगेका नायक पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानविचको विवाद सहमतीमा टुंगिएको छ ।
आज इलाका प्रहरी कार्यलय धरानमा भएको छलफलमा अरुण र पलले एक अर्कासँग माफी मागेपछि विवाद सकिएको हो । विवाद टुंगिएपछि मिडियाकर्मीसँग कुरा गर्दै पलले दुबै पक्षबाट भएका कमजोरी स्विकार गर्दै माफी मागेपछि विवाद सकिएको बताए ।
यस्तै, अरुणले पनि पल एक सुपरस्टार नायक भएको भन्दै दुबैले कमजोरी महशुश गरेपछि सहमती भएको बताए । पलले भने–‘अरुणजीले पनि एउटा सेलिब्रिटीमाथि आफूले व्यवहार गर्दा कमजोरी भएको स्विकार गर्नुभयो ।
यस्तै, मेरा सहयोगी कृष्णप्रसाद जोशीले पनि कमजोरी स्विकार गर्नुभयो । दुबैले कमजोरी स्विकार गरेपछि अब घटनालाई टुंगाएर अघि बढ्ने सहमती भयो ।’
विवाद मिलेपछि पल र अरुणले हात मिलाएका थिए । धरानमा म्यूजिक भिडियो छायांकनका लागि पुगेका पलले एक रेष्टुरेन्टमा खाना खाने क्रममा आफूलाई दुव्र्यवहार गरेको र कुटपिट गर्न खोजेको आरोप लगाउँदै अरुणले इलाका प्रहरी कार्यलय धरानमा उजुरी दिएका थिए ।