
विश्व चर्चित भारतीय गायिका लता मंगेशकरले नेपाली गीतमा पनि स्वर भरेकी छन् । लताले स्वर भरेका ‘जुन माटो मेरो’, ‘बाँचुञ्जेलीलाई’, ‘आकाशमा तिरमिरे’ लगायतका गीत नेपाली श्रोता–दर्शकमाझ आज पनि उत्तिकै लोकप्रिय छन् ।
विश्वका ३६ भाषाका ५० हजारभन्दा बढी गीत गाएकी लता आफूले गाएका नेपाली गीत भने अरु गायिकाको स्वरमा रेकर्ड नहोस् भन्ने चाहन्थिन् । यो कुराको जानकारी संगीतकार सुरेश अधिकारीले दिएका छन् । सुरेशले भने, ‘करिब १२–१३ वर्षअघि म र संगीतकार महेश खड्का मुम्बई पुगेका थियौं ।
महेशजीले लताकी बहिनी उषा मंगेशकरको स्वरमा एउटा गीत रेकर्ड गराउने तयारी गर्नुभएको थियो । लताजी पनि सोही स्टुडियोमा हुनुहुन्थ्यो ।’ त्यसबेला लतासँग नेपाली गीत–संगीतको विषयमा कुरा भएको सुरेशले बताए ।
‘लता र उषाले हामीसँगको कुराकानीमा आफूहरुले गाएको नेपाली गीत रिमेक भएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको थियो,’ उनले भने । ‘लता र उषाले आफूले गाएका गीत फेरि नयाँ गायिकाहरुले गाउँदा आफूहरुका लागि त जिउँदै मरेजस्तो हुने बताउनुभयो,’ सुरेशले अगाडि भने, ‘यो कुराले हामीलाई मर्माहत बनाएको थियो ।’
लता मंगेशकर आफूले गाएको नेपाली गीत फेरि अर्को स्वरमा रेकर्ड नहोस् भन्ने चाहन्थिन् । कोकिल स्वरकी धनी लताको आइतबार सरस्वती पूजाको दिन निधन भएको छ ।


