‘चपली हाइट ३’लाई दोस्रो मौका - Crazysaptahik.com

‘चपली हाइट ३’लाई दोस्रो मौका

बारम्बार प्रदर्शन मिति सारेपछि तनावमा रहेका निर्माता अर्जुन कुमारले गत पुस ३० गते चलचित्र चलाउने जमर्को गरे ।त्यतिबेला कोरोना संक्रमणको तेस्रो लहर सुरु भइसकेको थियो । यसअघि पुस १५ का लागि प्रदर्शन मिति तोकेका उनले कोरोनाको त्रास बढेपनि फेरि मिति सार्न इच्छुक देखिएनन् ।

बारम्बार प्रदर्शन हेरफेर गर्दा दर्शकमा राम्रो सन्देश नजाने उनको बुझाइ थियो । पुस ३० गतेमा चलचित्र रिलिज भएपनि दर्शक हलसम्म पुगेनन् । तर, हलमा पुगेका दर्शकले भने चलचित्रलाई रुचाए ।

समीक्षक र चलचित्रकर्मीले पनि चलचित्रको प्रशंसा नै गरिरहँदा अर्जुन वर्ड अफ माउथले काम गर्ने सोचमा थिए । तर, सरकारले माघ ३ गतेबाट कोरोनाको जोखिम देखाउँदै हल बन्द गरेपछि भने अर्जुन कुमार अक्क न बक्क परे ।

चलचित्र रिलिज हुँदाहुँदै रोकिएकाले उनलाई दोस्रो अवसर आएको छ । व्यावसायिक रुपमा सफल नभएको भए चलचित्रले दोस्रो अवसर पाउने थिएन । दोस्रो अवसरमा भने आफूलाई केही राहत हुने उनको अपेक्षा छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेबाट हल खोल्न सिफारिस गरेकाले पनि मन्त्रिपरिषद् बैठकले हल खुलाउने निर्णय गर्ने निश्चित छ । योसँगै हलमा ‘चपली हाइट ३’ले फेरि प्रवेश पाउनेछ ।

पहिलो चरणको लकडाउनपछि पनि चल्दाचल्दै रोकिएको चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ले प्रदर्शनको दोस्रो अवसर पाएका थिए ।फागुन १३ गते अगाडि स्वदेशी र विदेशी कुनै पनि नयाँ चलचित्र रिलिज नहुने देखिएको छ ।

यसैले अर्जुन हल खुलेपछि दोस्रो अवसर पाउने र लगानी केही हदसम्म भएपनि उठ्नेमा आशावादी छन् । निकेश खड्का निर्देशित सस्पेन्स थ्रिलर ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतको मुख्य भूमिका छ । चलचित्रको प्रचारमा कलाकारले साथ नदिएर एक्लिएका अर्जुनलाई दर्शकले दोस्रो मौका दिएको खण्डमा उनलाई ठूलै राहत हुनेछ ।

 

सम्बन्धित खवर