‘एक्स ९’ निर्देशकको दाबी– चलचित्र बन्छ, केही महिना पछि सरेको मात्र हो - Crazysaptahik.com

‘एक्स ९’ निर्देशकको दाबी– चलचित्र बन्छ, केही महिना पछि सरेको मात्र हो

अभिनेताहरु अनमोल केसी, पुष्प खड्का, सौगात मल्ल लगायतका कलाकारलाई अनुबन्धित गरिएपनि छायांकनमा जान नसकेको चलचित्र ‘एक्स ९’ बन्दैन भन्ने चर्चा भइरहेको छ । अनमोलले चलचित्रका लागि बनाएको गेटअप समेत परिवर्तन गरिसकेका छन् । तर चलचित्रका निर्देशक मुकुन्द भट्टले भने चलचित्र बन्ने दाबी गरेका छन् ।

उनले भने, ‘यहाँ एक करोड बजेटको चलचित्र बनाउन त मुस्किल पर्छ । हाम्रो चलचित्रको बजेट १० करोडमाथि पुगिसकेको छ । यसैले सबै कुराको व्यवस्था गर्न केही समय लागेको मात्र हो । चलचित्र नै बन्दैन भन्ने हल्ला व्यर्थ हो ।’ मुकुन्दले यसपटक आफूले नेपाली चलचित्रलाई विश्वबजारमा पु¥याउनका लागि कोशिश गरिरहेको सुनाए ।

‘हामीलाई विश्वका हरेक भाषाका चलचित्रबारे जानकारी छ । तर, के उनीहरुले नेपाली चलचित्रबारे केही थाहा पाएका छन् त ?’ उनले भने ।मुकुन्दले चलचित्रको बजेट उच्च भएकाले पनि त्यसलाई व्यवस्थापन गर्न केही समय लागेको र सबै काम सकेपछि छायांकन सुरु गर्ने बताए ।

नेपाली चलचित्रलाई पनि अब विश्वका चर्चित ओटीटी प्लेटफर्ममा लैजाने कोशिश आफूले गरेको उनको भनाइ छ । ‘यदि हामीले यो प्रयासमा सफलता हासिल गर्न सकेको खण्डमा नेपाली चलचित्रका लागि ठूलो बजारको बाटो खुल्नेछ,’ उनले भने । यस विषयमा अभिनेता अनमोल केसीले भने, ‘चलचित्र नै बन्दैन भन्न त नमिल्ला ।

मलाई निर्माणपक्षले केही समयपछि छायांकन हुने भयो भन्नु भएको छ । यसैले मैले ‘हनी बनी’ साइन गरेको हुँ ।’चलचित्र ‘एक्स ९’लाई फ्रेबुअरीबाट सुरु गर्ने निर्माणपक्षको तयारी छ । चलचित्रलाई युरोपका विभिन्न देशमा छायांकन गरिने निर्देशक भट्टले बताउँदै आएका छन् ।

सम्बन्धित खवर