वसन्तले आरोप प्रमाणित गर्न सक्नुपर्छ, नत्र मानहानीको मुद्दा दायर गर्छु : महेश खड्का - Crazysaptahik.com

वसन्तले आरोप प्रमाणित गर्न सक्नुपर्छ, नत्र मानहानीको मुद्दा दायर गर्छु : महेश खड्का

संगीतकार महेश खड्काले चर्चामा आउनका लागि संगीतकार वसन्त सापकोटाले आफूमाथि संगीत चोरीको आरोप लगाएको दाबी गरेका छन् । कानुनी रुपमा आरोप प्रमाणित गरेर देखाए आफू सजाय भोग्न तयार रहेको खड्काको भनाइ छ । आरोप प्रमाणित गर्न नसके मानहानीको मुद्दा दायर गर्न सक्ने समेत उनले बताए ।

अहिले ट्रेन्डिङमा रहेको गीत ‘नोगेन’को संगीत आफ्नो गीत ‘सागर सरी’सँग मिलेको सापकोटाले आरोप लगाएपछि संगीतकार खड्काले शुक्रबार पत्रकार सम्मेलन गर्दै सापकोटाले यो आरोप प्रमाणित गर्न चुनौती दिए ।

खड्काले भने, ‘कि चोरेको हो, मिलेको हो भनेर आरोप प्रमाणित गरेर देखाउनुपर्छ । नत्र म कानुनी उपचारमा जान्छु । मेरो मानहानी भएको छ । मैले ३० वर्ष लगाएर यो क्षेत्रमा कमाएको ख्यातिको अपमान भएको छ ।’ कानुनी उपचारको बाटो हुँदाहुँदै पनि संगीतकार सापकोटाले कुण्ठित मनसायले आरोप–प्रत्यारोप लगाउँदै मिडियाबाजी गर्दै हिंडिरहेको उनले बताए ।

संगीतकार खड्काले प्रश्न गरे, ‘उहाँलाई एकाएक अहिले चर्चाको खाँचो किन पर्यो ? चर्चाको विषय बनेर आफू अघि आउनुपर्ने कारण के प¥यो ? यही कुरामा छक्क परिरहेको छु । उहाँ त चर्चित संगीतकार नै हो ।’ सापकोटाले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले नै यो कुरा उठाइरहेको खड्काले जिकिर गरे ।

संसारभर भएका ताल, सुर र रागबाटै संगीत सिर्जना हुने र त्यसलाई आफ्नो प्रकारले ढालेर गीत–संगीत तयार गरिने खड्काले बताए । एकले अर्कालाई आरोप लगाउने हो भने नेपाली संगीत क्षेत्र अघि नबढ्ने उनको भनाइ छ ।

‘कुनै गीतमा दुई नोट मिल्यो भन्दैमा अर्कालाई चोर भन्ने, त्यो खालको आरोप प्रत्यारोप गर्नै हो भने संगीत गर्छु भनेर कोही अगाडि नबढे हुन्छ,’ उनले भने, ‘यो कुराले घात त अब वसन्त भाइ स्वयंलाई गर्छ । उहाँका पनि केही कृतिहरु होलान् जहाँ दुई नोट, चार नोट मिलेका होलान् । त्यो निस्किए भने के हुन्छ ? उहाँले अरुलाई के भन्नुहुन्छ ?’

काम गर्दै जाँदा कहिलेकाहीं केही कुरा मिलिरहेको हुनसक्ने भन्दै उनले अरुको सिर्जना चोरेको वा नचोरेको कुरामा सचेत रहेको खड्काले बताए ।उनले अगाडि भने, ‘सम्पूर्ण नोट, कर्ड, ताल मैले निर्माण गरेको होइन ।

नोटभित्रबाट म खेल्ने हो । र, नयाँ प्रकारको मेलोडी निर्माण गर्ने मेरो काम हो । त्यसमा पनि गायनमा कसरी गाइएको छ, त्यसलाई लिने तरिका कस्ता हुन्छन् ? मुर्गीहरु कहाँ कति घुमाइएको छ ।

उच्चारण कसरी गरिएको छ ? यी सबै कुरालाई ध्यान दिन जरुरी छ ?’ प्रतिलिपि अधिकारसम्बन्धी ऐनअनुसार छानबिन गरेर आफू दोषी देखिए दण्डित हुन तयार रहेको समेत खड्काले बताए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.