२७ फागुनबाट प्रदर्शनमा आउँने फिल्म हो ‘आकासे खेती’ । फिल्मले प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले नयाँ ट्रेलर सार्वजनिक गरेको छ । बिहिबार सार्वजनिक ट्रेलरमा फिल्मका महत्वपुर्ण अंश समेटिएको छ । ट्रेलर हेर्दा फिल्म राम्रो बनेको अनुमान लगाउन सकिन्छ ।
करिब तीन मिनेटको ट्रेलरमा फिल्मका मुख्य कलाकार गौरव पहारी, विल्सन बिक्रम राई, बुद्धि तामाङ लगायत देखिएका छन् । युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्वतियन शरणार्थीको विषय कथा बनाएको फिल्ममा गौरव, विल्सन, बुद्धिका अलवा नीता ढुंगाना, मरिश्का पोखरेल, रविन्द्र झा, जयनन्द लामा र शिशिर वाङ्देलको अभिनय देख्न सकिन्छ ।
केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दीलप्रकाश याक्सो निर्माता रहेको फिल्मको कथा निर्देशक उदय सुब्बा आफैंले तयार पारेका हुन् । कलाकार विल्सन बिक्रमको सम्बाद रहेको फिल्ममा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिव सिंहको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत छ ।
फिल्मको निर्देशन उदय सुब्बाले गरेका हुन् ।