मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दुर्गम अपर दाङगढी गाउँ राष्ट्रिय विद्युत प्रसारण लाइनसँग जोडिएको छ ।
मिस नेपाल वल्र्ड प्रियंकारानी जोशीको पहलमा गाउँमा बिजुली पुगेपछि गाउँलेहरु औधी खुसी छन् । नेपाल विद्युत प्राधिकरणसँग मिलेर प्रियंकाले उक्त गाउँमा बिजुली पुयाएकी हुन् ।
यसै साता विद्युत परीक्षण प्रसारण सफल भएको र आगामी साता उद्घाटन कार्यक्रम राखिएको छ, जहाँ सहभागी हुन प्रियंका जाँदैछिन् । विपन्न चेपाङ र गुरुङ समुदायको बस्ती रहेको गाउँमा बिजुली पुगेपछि ५८ घरधुरीका ३५८ जना लाभान्वित हुनेछन् ।
महिला र बालबालिकाको जीवनस्तर सुधार्ने परियोजना सम्पन्न गर्नुपर्ने भएपछि प्रियंकाले बिजुली नपुगेको उक्त गाउँलाई रोजेकी थिइन् । ‘अन्ततः चार महिनापछि बत्ती बलेको छ । हामी औधी खुसी छौं,’ प्रियंकाले हर्ष बाँडिन्,
‘अब हामी आय आर्जनको कामतर्फ केन्द्रित हुनेछौं ।’ स्थानीय महिलालाई मौरी पालन र आतिथ्यतासम्बन्धी सीपमूलक तालिम दिइने तयारी छ । यो सीप सिकेपछि गाउँलेले मनग्य आम्दानी गर्न सक्ने र बिजुलीको बिल तिर्न सक्ने आशा लिइएको छ ।
मिस वर्ल्डले ब्युटी विथ पर्पस परियोजना महिला र बालबालिकालाई लक्षित गर्दै आयोजना गरिरहेको छ । नेपाल यसअघि दुईपटक यो विधामा विजेता भइसकेकाले स्वभाविक रुपमा यसपटक पनि दाबेदार हुनेछ ।
अघिल्ला मिस नेपालहरुले पनि यो प्रोजेक्टअन्तर्गत विद्यालय, स्वास्थ्य चौकी, बालबालिका र झोलुंगे पुलको क्षेत्रमा काम गरिसकेका छन् । ब्युटी विथ पर्पस विधा जित्न सके मिस वर्ल्डको सेमिफाइनलमा प्रवेश गर्न पाइने अवसरसमेत छ । यस वर्षको मिस वर्ल्ड आगामी मे महिनाको अन्त्यमा हुने तयारीमा छ ।